कुवेतमा ड्रोन आक्रमणमा तेह्रथुमका सोमकुमार तामाङको ज्यान गयो
3.7k
Shares
काठमाडौँ । कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ। कुवेतस्थित नेपाली दूतावासका अनुसार तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको बिहीबार आक्रमणमा परी मृत्यु भएको हो। उनी कुवेतमा सवारी चालकका रूपमा कार्यरत थिए।
दूतावासले कुवेतको परराष्ट्र मन्त्रालयबाट घटनाबारे आधिकारिक जानकारी प्राप्त भएको जनाएको छ। साथै, तामाङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।
दूतावासका अनुसार सोमकुमार तामाङको पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउने तयारी भइरहेको छ। यसका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक सबै कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइएको जनाएको छ।
यसैबीच, दूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कुवेत सरकारले जारी गरेका सुरक्षा निर्देशिका र मापदण्डको पूर्ण पालना गर्न, अनावश्यक आवतजावत नगर्न तथा सुरक्षित स्थानमा रहन दूतावासले अनुरोध गरेको छ।
पछिल्लो समय मध्यपूर्वमा बढ्दो सुरक्षा चुनौतीका बीच कुवेतमा भएको यस घटनाले त्यहाँ रहेका नेपाली समुदायमा समेत चिन्ता बढाएको छ। नेपाली दूतावासले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको र आवश्यक परे थप सूचना जारी गरिने जनाएको छ।