गाजा युद्ध अन्त्यतर्फ नयाँ मोड : हमास निःशस्त्रीकरणको रूपरेखामा सहमत
8.3k
Shares
काठमाडौँ । झण्डै तीन वर्षदेखि जारी गाजा युद्ध अन्त्य गर्ने दिशामा महत्त्वपूर्ण मानिएको नयाँ पहलअन्तर्गत हमासले पहिलो पटक पूर्ण निःशस्त्रीकरणको रूपरेखा स्वीकार गरेको बताइएको छ।
बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘बोर्ड अफ पिस’को पहलमा हमास र गाजाका अन्य सशस्त्र समूहहरू पूर्ण निःशस्त्रीकरणको योजनामा सहमत भएको जानकारी दिएका छन्। हमासका एक वरिष्ठ अधिकारीले पनि उक्त योजनामा सहमति भएको पुष्टि गरेका छन्।
सम्झौताअनुसार हमासले आफ्ना बाँकी रहेका हतियार, सैन्य उत्पादन केन्द्र तथा सुरुङहरूको विस्तृत विवरण उपलब्ध गराउनेछ। भारी हतियारहरू नयाँ प्यालेस्टिनी प्रशासनको निगरानीमा राखिनेछन् भने ती इजरायललाई हस्तान्तरण गरिने छैन।
योजनामा निःशस्त्रीकरणको प्रक्रियासँगै इजरायली सेना चरणबद्ध रूपमा गाजाबाट फिर्ता हुने प्रस्ताव पनि समावेश गरिएको छ। अमेरिकी तथा ‘बोर्ड अफ पिस’का अधिकारीहरूका अनुसार निःशस्त्रीकरणको प्रगति स्वतन्त्र संयन्त्रमार्फत अनुगमन गरिनेछ।
यो सहमति कतार, इजिप्ट र टर्कीको मध्यस्थतामा भएको जनाइएको छ। यद्यपि इजरायलले हालसम्म यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन। हमासले वास्तवमै निःशस्त्रीकरणको प्रतिबद्धता कार्यान्वयन गर्छ कि गर्दैन भन्ने विषयमा इजरायलले यसअघि नै शंका व्यक्त गर्दै आएको छ।
बीबीसीका गाजा संवाददाता रुश्दी अबुअलौफका अनुसार हमासका नेता खालिल अल–हय्याको नेतृत्वमा संगठनले यो ऐतिहासिक राजनीतिक निर्णय लिएको हुन सक्ने वार्तामा संलग्न प्यालेस्टिनी अधिकारीहरूको विश्वास छ। गाजामा उत्पन्न गम्भीर मानवीय संकटले पनि यस्तो निर्णय लिन हमासलाई दबाब परेको उनीहरूको भनाइ छ।
यद्यपि, यो सहमति पूर्ण रूपमा कार्यान्वयन हुन्छ वा सबै पक्षले आफ्ना प्रतिबद्धता इमान्दारीपूर्वक पालना गर्छन् भन्ने विषय भने अझै स्पष्ट भइसकेको छैन। त्यसैले गाजा युद्ध अन्त्यतर्फको यो पहल सफल हुने वा नहुने भन्ने कुरा आगामी कार्यान्वयन प्रक्रियामा निर्भर रहने विश्लेषण गरिएको छ।