अमेरिका–इरान तनाव फेरि चुलियो, दुवै पक्षबीच सैन्य आक्रमण तीव्र

6.5k Shares

तेहरान । जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी इरानले गरेको क्षेप्यास्त्र आक्रमणको प्रयासपछि संयुक्त राज्य अमेरिकाले इरानका विभिन्न सैन्य लक्ष्यमा व्यापक जवाफी आक्रमण गरेको छ। करिब एक सातादेखि रोकिएको सैन्य भिडन्त पुनः सुरु भएसँगै मध्यपूर्वमा तनाव फेरि चुलिएको छ भने कूटनीतिक वार्तामार्फत समाधान खोज्ने प्रयासमा पनि गम्भीर धक्का पुगेको छ।

अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्ट्रल कमान्ड) ले इरानसमर्थित आक्रमणको जवाफस्वरूप सैन्य कारबाही गरिएको जनाएको छ। आक्रमणअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘कडा प्रहार’ गरिने चेतावनी दिएका थिए।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकाले पश्चिमोत्तर पिरानशहर सीमावर्ती क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको छ। फार्स समाचार एजेन्सीले आक्रमण निर्जन क्षेत्रमा भएकाले मानवीय क्षति नभएको जनाएको छ।

यसअघि जोर्डनको सेनाले इरानबाट प्रहार गरिएका पाँचवटा क्षेप्यास्त्र आकाशमै अवरोध गरी नष्ट गरेको जनाएको थियो। इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सले ती आक्रमण अमेरिकी सैन्य अड्डालाई लक्षित रहेको दाबी गर्दै इरानमाथिको खतरा कायम रहेसम्म प्रतिरोध जारी रहने चेतावनी दिएको छ।

यसैबीच, इजरायलले लेबनानबाट हिजबुल्लाहले ड्रोनमार्फत इजरायली सवारीसाधनलाई निशाना बनाएको आरोप लगाउँदै त्यसलाई युद्धविरामको स्पष्ट उल्लङ्घन भनेको छ। पछिल्लो अमेरिकी आक्रमणमा इजरायल प्रत्यक्ष सहभागी भएको पुष्टि भने भएको छैन।

अर्कोतर्फ अमेरिका र साउदी अरेबियाले इराकभित्र इरानसमर्थित सशस्त्र समूहका आधार क्षेत्र तथा हतियार भण्डारणस्थललाई लक्षित गरी संयुक्त हवाई आक्रमण गरेका छन्। अमेरिकी सेनाले रसद तथा हतियार भण्डारण केन्द्रमा प्रहार गरिएको जनाएको छ।

इराकको हसद अल–शाबी गठबन्धनले उक्त आक्रमणमा आफ्ना कम्तीमा २० सदस्य मारिएको दाबी गरेको छ। गठबन्धनले यसलाई इराकको आधिकारिक सुरक्षा संरचनामाथिको खतरनाक आक्रमणको संज्ञा दिएको छ। दुई अधिकारीका अनुसार मारिनेमध्ये पाँच जना इरानी सैन्य सल्लाहकार पनि रहेका छन्।

सन् २०१४ मा जिहादी समूहविरुद्ध लड्न गठन गरिएको हसद अल–शाबी पछि इराकको सुरक्षा संरचनामा समाहित भएको थियो। यसभित्र इरानसँग निकट सम्बन्ध भएका विभिन्न सशस्त्र समूह आबद्ध छन्।

इराक सरकारले अमेरिका–साउदी संयुक्त आक्रमणको विरोध गर्दै आफ्नो सार्वभौमसत्तामाथिको हस्तक्षेप अस्वीकार्य भएको जनाएको छ। राष्ट्रिय सुरक्षा परिषद्ले इराकको भूमि कुनै पनि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिइने स्पष्ट पारेको छ। यद्यपि राष्ट्रपति ट्रम्पले भने उक्त कारबाही इराकी सरकारसँग समन्वय गरेर गरिएको दाबी गरेका छन्।

यसैबीच, विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग हर्मुज जलडमरूमध्यलाई लिएर पनि तनाव बढेको छ। इरानको रिभोलुसनरी गार्ड्सले जलमार्गमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गर्दै तीनवटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको जनाएको छ। साथै, उक्त मार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने योजना सार्वजनिक गरेको छ, जसको अमेरिकाले कडा विरोध गरेको छ।

हर्मुज क्षेत्रमा बढ्दो असुरक्षाले विश्व ऊर्जा बजारमा समेत असर परेको छ। कच्चा तेलको मूल्य बढेसँगै अमेरिकी सेयर बजारमा गिरावट आएको छ भने ३० वर्षे अमेरिकी ट्रेजरी बन्डको प्रतिफल सन् २००७ यताकै उच्च स्तरमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। पछिल्ला घटनाक्रमले अमेरिका–इरानबीच तनाव न्यूनीकरणका लागि भइरहेको कूटनीतिक प्रयास थप जटिल बनेको विश्लेषण गरिएको छ।

सम्बन्धित समाचार