विश्वकपका स्टार गोलकिपर भोजिन्हा चिलीको कोलो कोलोमा अनुबन्धित
1.3k
Shares
काठमाडौँ । फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै विश्व फुटबलमा चर्चित बनेका केप भेर्डेका अनुभवी गोलकिपर भोजिन्हा चिलीको प्रतिष्ठित क्लब कोलो कोलोमा अनुबन्धित भएका छन्।
४० वर्षीय भोजिन्हाले विश्वकपमा स्पेन र अर्जेन्टिनाजस्ता बलिया टोलीविरुद्ध उत्कृष्ट बचाउ गर्दै आफ्नो असाधारण क्षमता प्रदर्शन गरेका थिए। उनको प्रदर्शनले विश्वभरका फुटबल समर्थक र क्लबहरूको ध्यान खिचेको थियो।
कोलो कोलो क्लबले सामाजिक सञ्जालमार्फत भोजिन्हाको स्वागत गर्दै उनी छिट्टै चिली पुगेर स्वास्थ्य परीक्षण पूरा गरेपछि औपचारिक रूपमा सार्वजनिक गरिने जनाएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार उनीसँग क्लबले १८ महिनाको सम्झौता गरेको छ।
भोजिन्हाको कप्तानी तथा उत्कृष्ट गोलरक्षणको बलमा केप भेर्डे पहिलो पटक फिफा विश्वकपको अन्तिम ३२ चरणसम्म पुग्न सफल भएको थियो। यद्यपि अतिरिक्त समयमा अर्जेन्टिनासँग ३–२ ले पराजित हुँदै टोलीको यात्रा त्यहीँ टुंगिएको थियो।
विश्वकपमा देखाएको उत्कृष्ट प्रदर्शनपछि भोजिन्हाको लोकप्रियता पनि उल्लेखनीय रूपमा बढेको छ। प्रतियोगिता सुरु हुनुअघि सामाजिक सञ्जालमा करिब ५० हजार रहेका उनका समर्थकको संख्या विश्वकपपछि झण्डै २ करोड ९० लाख पुगेको बताइएको छ। अनुभवी गोलकिपर भोजिन्हाको कोलो कोलो आगमनले चिलीको शीर्ष डिभिजनमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।