काठमाडौँ । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा हिमपहिरो गएपछि नेपालीमूलका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन भएको छ।
पाकिस्तानी पर्वतारोहण अधिकारीहरूका अनुसार बिहीबार दिउँसो हिमपहिरो गएको थियो। त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको जनाइएको छ। टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र पाँच नेपालीसहित विभिन्न देशका आरोही सहभागी छन्।
बीबीसीका अनुसार मौसम अनुकूल बनेमा हेलिकोप्टरमार्फत खोज तथा उद्धार अभियान सञ्चालन गरिने तयारी गरिएको छ। पाकिस्तानको अल्पाइन क्लबले सरकारी निकायसँग समन्वय गर्दै टोलीको खोजीका लागि तत्काल उद्धार अभियान अघि बढाइएको र उपलब्ध सबै स्रोत परिचालन गरिएको जनाएको छ।
निर्मल पुर्जा सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल करिब ६ महिनामै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका पर्वतारोही हुन्। ब्रड पिक विश्वको १२औँ अग्लो हिमालका रूपमा परिचित छ र यसलाई संसारका चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ।
टोलीको अवस्थाबारे आधिकारिक जानकारी आउन बाँकी रहेकाले उद्धार अभियानको प्रगतितर्फ अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायको चासो केन्द्रित भएको छ।