जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु, दिउँसो ३:३० बजेदेखि लागू
1k
Shares
जनकपुरधाम । सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम तथा आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
बिहीबार बिहानदेखि जनकपुरधाममा प्रदर्शनकारी सक्रिय बनेपछि जिल्ला प्रशासन कार्यालयले सोही दिन दिउँसो ३:३० बजेदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने गरी कर्फ्यु घोषणा गरेको हो।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलद्वारा जारी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको साउन १४ गते बसेको बैठकको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु लागू गरिएको हो।
कर्फ्यु आदेशअनुसार तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन, सभा वा घेराउ गर्न पाउने छैनन्। आदेश उल्लङ्घन गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।
कर्फ्यु लागू गरिएका क्षेत्रहरूमा उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक हुँदै सिनुरजोडा चोकसम्म, पूर्वतर्फ बेलौनी रोडस्थित एम.क्यु. स्टिल क्षेत्रदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराइन नगरपालिकाको नगराइन चोकसम्म तथा पश्चिमतर्फ सिनुरजोडा, सोहनी, मणिमण्डप, नेपाल नर्सरी, इस्कोन जनकपुर, दुधमती पुल, बेला र कादरी मस्जिद आसपासका क्षेत्र समेटिएका छन्।
जिल्ला प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा जिल्लामा शान्ति–सुरक्षा कायम राख्न आवश्यक सहयोग गर्न आग्रह गरेको छ।