कुमामोतो (जापान) । जापानको दक्षिणपश्चिमी क्युसु टापुको कुमामोतो प्रान्तमा मङ्गलबार आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने २४ जनाभन्दा बढी घाइते भएका छन्।
भूकम्पका कारण सपिङ मल, औद्योगिक प्रतिष्ठान, सडक, पुल तथा ऐतिहासिक सम्पदामा व्यापक क्षति पुगेको छ भने हजारौँ घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। स्थानीय समयअनुसार अपराह्न ४ः२७ बजे गएको भूकम्पको तीव्रता अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले ६.८ म्याग्निच्युड र केन्द्रविन्दुको गहिराइ १० किलोमिटर रहेको जनाएको छ। जापानी अधिकारीहरूले भने यसको तीव्रता ७.१ म्याग्निच्युड रहेको बताएका छन्।
अधिकारीहरूका अनुसार मृत्यु भएका सबै व्यक्तिको ज्यान प्रत्यक्ष रूपमा भूकम्पकै कारण गएको हो वा होइन भन्ने विषयमा थप पुष्टि भइरहेको छ। प्रारम्भिक विवरणअनुसार सात जना गम्भीर घाइते भएका छन् भने अन्य घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
सबैभन्दा ठूलो क्षति कासिमा सहरस्थित एउटा सपिङ मलमा भएको छ। भूकम्पपछि ग्यास विस्फोट हुँदा भवनको छाना र पर्खाल भत्किएको सरकारी स्रोतले जनाएको छ। मल सञ्चालन गर्ने कम्पनी एओनका प्रवक्ताका अनुसार ग्राहक र कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालेपछि विस्फोट भएको थियो।
स्थानीय प्रशासनले मलबाट आठ जनाको उद्धार गरिएको जनाएको छ, जसमध्ये पाँच जना घाइते भएका छन्। प्रारम्भिक अनुमानमा २० देखि ३० जना भवनभित्र फसेको आशंका गरिए पनि वास्तविक सङ्ख्या कम रहेको प्रहरीले जनाएको छ। केही कर्मचारी अझै भवनभित्र फसेको पुष्टि भए पनि सुरक्षित प्रवेशमार्ग बनाउन नसकिएकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
यात्सुशिरोस्थित निप्पोन पेपर इन्डस्ट्रिजको कारखानामा पनि ठूलो क्षति पुगेको छ। कारखानाको धुवाँ निकाल्ने संरचनाको एक भाग भत्किएको छ भने त्यहाँ कार्यरत नौ जनाको अवस्थाबारे अझै जानकारी प्राप्त हुन नसकेको स्थानीय सरकारले जनाएको छ।
भूकम्पका कारण कुमामोतो क्षेत्रमा आगलागी, भवन भत्किने, सडक चर्किने, पुलमा क्षति पुग्ने तथा मालवाहक रेल पल्टिने घटना भएका छन्। एउटा पैदल यात्रु पुलको एक भाग नदीमा खसेको छ। कुमामोतो विमानस्थल केही घण्टा बन्द गरिएपछि पुनः सञ्चालनमा ल्याइएको छ भने सिङ्कानसेन उच्चगतिको रेल सेवा अस्थायी रूपमा स्थगित गरिएको थियो। धेरै सडक अझै सञ्चालनमा आउन सकेका छैनन्।
बुधबार बिहानसम्म कुमामोतो क्षेत्रमा ३६ हजार ८८० घर तथा अन्य संरचनामा विद्युत् आपूर्ति अवरुद्ध रहेको छ। जापानी रक्षा मन्त्रालयले उद्धार तथा राहत कार्यका लागि तीन हजार ६०० सैनिक परिचालन गरेको छ। साथै, क्षतिको हवाई मूल्याङ्कन गर्न २० वटा सैन्य विमान पनि परिचालन गरिएको छ।
भूकम्पका बेला कुमामोतोस्थित कार्यालयमा कार्यरत ३५ वर्षीया चिहारू हाराले भवन अत्यन्तै तीव्र रूपमा हल्लिँदा कार्यालय नै भत्किने हो कि भन्ने डर लागेको बताएकी छन्। उनका अनुसार कार्यालयमा रहेका सबै कर्मचारी त्रसित बनेका थिए।
एएफपीले प्रमाणित गरेको भिडियोमा सडकमा गुडिरहेका सवारीसाधन, ट्राफिक बत्ती र सडकबत्ती तीव्र रूपमा हल्लिएको देखिएको छ। सुरक्षा क्यामेराका दृश्यमा ऐतिहासिक कुमामोतो महलको पर्खालका केही भाग भत्किएको पनि देखिएको छ।
प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित जापान विश्वकै सबैभन्दा बढी भूकम्प आउने मुलुकमध्ये एक हो। चार प्रमुख टेक्टोनिक प्लेटको सङ्गमस्थलमा रहेकाले यहाँ हरेक वर्ष सयौँ भूकम्प जाने गर्छन्। वैज्ञानिकहरूका अनुसार विश्वभर हुने करिब १८ प्रतिशत भूकम्प जापान वरपरकै क्षेत्रमा आउने गर्छ।
सन् २०११ मा जापानमा आएको ९.० म्याग्निच्युडको विनाशकारी भूकम्प र त्यसपछिको सुनामीमा करिब १८ हजार ५०० जनाको ज्यान गएको थियो। उक्त विपद्ले फुकुसिमा आणविक विद्युत् केन्द्रमा गम्भीर दुर्घटना समेत निम्त्याएको थियो।