बाघ बढे, चुनौती पनि बढ्यो : मानव–बाघ द्वन्द्वदेखि ‘टाइगर सेन्चुरी’सम्म

2.5k Shares

काठमाडौं । आज (जुलाई २९) विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा सम्पन्न बाघ शिखर सम्मेलनपछि बाघ संरक्षण र यसको प्राकृतिक बासस्थान जोगाउने उद्देश्यका साथ हरेक वर्ष यो दिवस मनाउन थालिएको हो।

दिवसका अवसरमा कृषि, वन तथा पर्यावरण मन्त्रालयले मन्त्री गीता चौधरीको उपस्थितिमा नेपालमा गरिएको पछिल्लो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। नेपालमा हरेक चार वर्षको अन्तरालमा बाघ गणना गरिन्छ।

हालसम्म सार्वजनिक पछिल्लो तथ्यांकअनुसार सन् २०२२ मा नेपालमा ३५५ वटा बाघ रहेका थिए। तीमध्ये सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८, बर्दियामा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ रहेका छन्।

वन तथा वातावरणका अधिकारीहरूका अनुसार संरक्षण क्षेत्र र मध्यवर्ती वनमा बाघको बासस्थान सुधार, आहारा प्रजातिको वृद्धि र संरक्षण प्रयासका कारण यसपटक बाघको संख्या अझ बढ्ने अनुमान गरिएको छ।

१२१ बाट ३५५ पुग्यो नेपालको बाघ

नेपालले पछिल्लो डेढ दशकमा बाघ संरक्षणमा उल्लेखनीय सफलता हासिल गरेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार सन् २०१० मा नेपालमा १२१ वटा मात्र बाघ थिए। यो संख्या सन् २०१४ मा १९८, सन् २०१८ मा २३५ र सन् २०२२ मा बढेर ३५५ पुगेको थियो।

सन् २०१० मा रुसमा भएको बाघ शिखर सम्मेलनले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य तय गरेको थियो। नेपालले त्यो लक्ष्य पार गर्दै विश्वमै सफल बाघ संरक्षण गर्ने मुलुकका रूपमा आफ्नो पहिचान बनाएको छ।

हाल नेपालमा बाघ चितवन, पर्सा, बर्दिया, बाँके र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका जैविक मार्ग र मध्यवर्ती वन क्षेत्रमा मात्र पाइन्छ।

विश्वमा पाँच हजारभन्दा बढी बाघ

बाघ विश्वका केवल १३ एसियाली देशमा पाइन्छ। सन् २०२५ को तथ्यांकअनुसार विश्वभर ५ हजार ३५७ वटा बाघ रहेका छन्।

सबैभन्दा धेरै भारतमा ३ हजार १६७, त्यसपछि रुसमा ७५०, इन्डोनेसियामा ४००, नेपालमा ३५५, थाइल्यान्डमा १८९, भुटानमा १५१, मलेसियामा १५०, बंगलादेशमा १४६, म्यान्मामा २२, चीनमा २०, भियतनाममा ५ र लाओसमा २ वटा बाघ रहेका छन्।

यसरी गरियो पछिल्लो गणना

पछिल्लो राष्ट्रिय बाघ सर्वेक्षण गत पुसदेखि करिब तीन महिनासम्म सञ्चालन गरिएको थियो।

चितवन–पर्सा, बाँके–बर्दिया तथा शुक्लाफाँटा–लालझाडी गरी तीन संरक्षण क्षेत्रलाई समेटेर दुई किलोमिटर × दुई किलोमिटरका ग्रिडमा करिब एक हजार १०० वटा स्वचालित क्यामेरा (क्यामेरा ट्र्याप) जडान गरिएको थियो। प्रत्येक स्थानमा कम्तीमा १५ दिनसम्म क्यामेरा सञ्चालन गरी प्राप्त तस्बिरको विश्लेषणबाट बाघको संख्या निर्धारण गरिएको थियो।

सर्वेक्षणमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा वन तथा भू–संरक्षण विभाग, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ नेपाल, जेडएसएल नेपाललगायत करिब २५० जना जनशक्ति परिचालन गरिएको थियो।

बाघ बढे, चुनौती पनि थपियो

बाघको संख्या बढेसँगै मानव–बाघ द्वन्द्व पनि बढ्दो क्रममा छ। मध्यवर्ती क्षेत्रका स्थानीय घाँस, दाउरा संकलन गर्न वा पशु चराउन जंगल जाँदा बाघको आक्रमणमा पर्ने घटना बढिरहेका छन्।

त्यस्तै चोरी सिकारी, पूर्वाधार निर्माणका क्रममा वन्यजन्तु मार्ग अवरुद्ध हुनु र सडक तथा रेलमार्ग पार गर्ने क्रममा बाघको मृत्यु हुने समस्या पनि देखिएको छ।

पछिल्लो अध्ययनले नेपालको वर्तमान बासस्थानले करिब ४०० वटा बाघ धान्न सक्ने देखाएको छ। त्यसैले संरक्षणसँगै व्यवस्थापन पनि चुनौतीपूर्ण बन्दै गएको विज्ञहरू बताउँछन्।

समस्याग्रस्त बाघका लागि ‘टाइगर सेन्चुरी’

हाल देशभर १६ वटा समस्याग्रस्त बाघ विभिन्न इन्क्लोजरमा राखिएका छन्। मानव बस्तीमा प्रवेश गर्ने, मानिस वा चौपायामाथि आक्रमण गर्ने वा घाइते अवस्थामा फेला परेका बाघलाई उद्धार गरी चितवन, बर्दिया, बाँके राष्ट्रिय निकुञ्ज तथा जावलाखेलस्थित सदर चिडियाखानामा राख्ने गरिएको छ।

यस्ता बाघको व्यवस्थापन खर्च बढ्दै गएपछि सरकारले चितवनको देवनगरमा करिब ५२ हेक्टर क्षेत्रफलमा ‘टाइगर सेन्चुरी’ निर्माण गर्ने योजना अघि बढाएको छ। मन्त्रालयका अनुसार सेन्चुरी निर्माण भएपछि समस्याग्रस्त बाघलाई प्राकृतिक वातावरणमै राख्न सकिनेछ भने वन्यजन्तु संरक्षण र पर्यापर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 
सम्बन्धित समाचार