काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा अनलाइनमार्फत बैंक खाता खोल्न सकिने नयाँ सेवा सुरु गरेको छ। यससँगै नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा घरमै बसेर ग्लोबल आइएमई बैंकमा व्यक्तिगत बचत खाता खोल्न सक्ने भएका छन्।
बैंकका अनुसार नागरिक एप प्रयोगकर्ताले बैंकको वेबसाइटमा उपलब्ध क्यूआर कोड स्क्यान गरी सहज रूपमा खाता खोल्न सक्नेछन्। आवश्यक क्यूआर कोड नागरिक एपमा उपलब्ध लिंकमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
यो सेवा नेपालमै पहिलो पटक सुरु गरिएको बैंकले जनाएको छ। यसअन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका, राष्ट्रिय परिचयपत्र बनाइसकेका तथा नागरिक एपमा आबद्ध नागरिकले अनलाइनबाटै खाता खोल्न सक्नेछन्।
खाता खोल्ने क्रममा बैंकले ग्राहकको पूर्वसहमतिमा नागरिक एपबाट आवश्यक व्यक्तिगत विवरण सुरक्षित रूपमा प्राप्त गर्नेछ। यसबाट ग्राहकले पुनः विवरण भर्नुपर्ने झन्झट हट्नुका साथै व्यक्तिगत गोपनीयता र सूचनाको सुरक्षासमेत सुनिश्चित हुने बैंकको विश्वास छ।
नागरिक एपमार्फत खोलिएको खाता सञ्चालनका लागि भने ग्राहकले आफ्नो नजिकको शाखा कार्यालयमा उपस्थित भएर वा भिडियो केवाईसी (KYC) मार्फत प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ।
बैंकले सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल र भरपर्दो डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ। नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई थप सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने विश्वास बैंकको छ।
ग्लोबल आइएमई बैंकले आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ।
हाल बैंकले देशका ७७ वटै जिल्लामा ३४२ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ। साथै अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै आएको बैंकले जनाएको छ।