पूर्वाधार विकास कार्यालयको पुँजीगत खर्च ४२.५२ प्रतिशतमा सीमित

2k Shares

काठमाडौं । हुम्लामा विकास निर्माणको गति सुस्त हुँदा पूर्वाधार विकास कार्यालयको पुँजीगत खर्च अपेक्षाकृत कमजोर देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा कार्यालयले विनियोजित बजेटको ४२.५२ प्रतिशत मात्रै खर्च गर्न सकेको जनाएको छ।

कार्यालय प्रमुख नरेशराज जैसीका अनुसार गत आर्थिक वर्षमा पुँजीगत शीर्षकअन्तर्गत ८९ करोड १ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन भएको थियो। त्यसमध्ये ३८ करोड ८५ लाख ७४ हजार ८६४ रुपैयाँ मात्रै खर्च भएको हो।

उक्त बजेटबाट डेढ सयभन्दा बढी विकास योजना सञ्चालनका लागि छनोट गरिए पनि ठूला तथा गौरवका आयोजनाको काम सुस्त हुँदा समग्र पुँजीगत खर्च प्रभावित भएको कार्यालयले जनाएको छ। साना तथा नियमित योजनाको प्रगति सन्तोषजनक रहे पनि ठूला आयोजना अलपत्रजस्तै बनेका छन्।

कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षमा ६५ प्रतिशतभन्दा बढी पुँजीगत खर्च भएको थियो। यस वर्ष भने अप्रत्याशित मूल्यवृद्धि, निर्माण कम्पनीको ढिलासुस्ती, हिउँदमा सिमेन्टजन्य काम प्रभावित हुनु तथा तयारी नपुगेका योजनामा बजेट विनियोजन गरिनु मुख्य कारणका रूपमा देखिएको छ।

५२ करोड रुपैयाँ लागतको कैलाश–मानसरोवर गेटवे निर्माण तथा गल्फागार्डदेखि श्रीनगरसम्म सडक कालोपत्रे गर्ने परियोजनाले अपेक्षित गति लिन नसक्दा ठूलो रकम खर्च हुन नसकेको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार कतिपय योजनामा लागत अनुमानको एक चौथाइ मात्रै बजेट विनियोजन गरिएकाले कार्यान्वयनमा समेत समस्या देखिएको छ। सडक आयोजनाको काम तुलनात्मक रूपमा सहज भए पनि अन्य पूर्वाधार निर्माणमा विभिन्न अवरोधका कारण अपेक्षित प्रगति हासिल हुन सकेको छैन।

निर्माण व्यवसायीलाई पटक–पटक काम तीव्र बनाउन निर्देशन दिइए पनि प्रभावकारी सुधार नआएको कार्यालयको भनाइ छ। त्यसका कारण कार्यालयअन्तर्गत सञ्चालनमा रहेका डेढ दर्जनभन्दा बढी आयोजना अझै सम्पन्न हुन नसकी अलपत्र अवस्थामा रहेका छन्।

सम्बन्धित समाचार