युक्रेन मोर्चामा उत्तर कोरियाली सैनिक थप्ने रूसको तयारी, जेलेन्स्कीले गरे खुलासा

3.4k Shares

युक्रेनका राष्ट्रपतिले रूसले युक्रेनविरुद्धको युद्धलाई थप तीव्र बनाउन उत्तर कोरियाबाट थप ३० हजार सैनिक ल्याउने तयारी गरिरहेको दाबी गरेका छन्। उनले युक्रेनी गुप्तचर निकायको सूचनालाई उद्धृत गर्दै रूसले यसका लागि आवश्यक तयारी सुरु गरिसकेको बताएका हुन्।

जेलेन्स्कीका अनुसार रूसको वोरोनेझ क्षेत्रमा ती सैनिकलाई राख्ने र परिचालन गर्ने पूर्वतयारी गत जुन महिनादेखि भइरहेको छ। उनले उत्तर कोरियाले रूसलाई थप ब्यालिस्टिक मिसाइल प्रक्षेपण प्रणाली पनि उपलब्ध गराउने तयारी गरिरहेको आरोप लगाए।

उनले रूस–उत्तर कोरिया सैन्य सहकार्यले युक्रेन मात्र नभई सम्पूर्ण एसियाली क्षेत्रको सुरक्षामा पनि खतरा बढाउने चेतावनी दिएका छन्। उनका अनुसार युद्धमा सहभागी भएर उत्तर कोरियाली सेना र हतियार प्रणालीले प्रत्यक्ष युद्ध अनुभव हासिल गरिरहेका छन्।

यद्यपि, जेलेन्स्कीको दाबीबारे हालसम्म रूस वा उत्तर कोरियाले कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

यसअघि सन् २०२४ देखि दुवै देशबीचको रक्षा साझेदारी सम्झौतापछि उत्तर कोरियाले हजारौँ सैनिक रूस पठाएको र उनीहरू कुर्स्क क्षेत्रमा तैनाथ भएको विवरण सार्वजनिक भइसकेको छ।

 
 
 
सम्बन्धित समाचार