दक्षिणी चीनमा टाइफुन ‘नाउल’, ७ लाखभन्दा बढी सुरक्षित स्थानमा, ३५० उडान रद्द

2k Shares

बेइजिङ। शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा ठोक्किएपछि व्यापक जनजीवन प्रभावित भएको छ। तीव्र हावाहुरी र भारी वर्षाका कारण सात लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने सयौँ उडान र रेल सेवा रद्द गरिएका छन्।

चीनको राष्ट्रिय मौसम केन्द्रका अनुसार टाइफुन ‘नाउल’ आइतबार बिहान ३ः५० बजे ग्वाङडोङ प्रान्तको हुइझोउ सहरअन्तर्गत हुइडोङ काउन्टीको तटीय क्षेत्रमा ठोक्किएको हो। सरकारी समाचार संस्था सिन्ह्वाले यसलाई यो वर्ष चीनमा प्रवेश गरेको सबैभन्दा शक्तिशाली टाइफुन जनाएको छ।

हङकङको मौसम विभागका अनुसार आँधीको केन्द्रनजिक अधिकतम हावाको गति प्रतिघण्टा ११० किलोमिटर पुगेको थियो। ग्वाङडोङको भित्री भूभागतर्फ अघि बढ्दै जाँदा टाइफुन कमजोर बन्दै गए पनि त्यसले विभिन्न क्षेत्रमा तीव्र हावाहुरी र मुसलधारे वर्षा गराएको छ।

सरकारी सञ्चारमाध्यम चाइना नेसनल रेडियोका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै ग्वाङडोङमा सात लाख १५ हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। प्रतिकूल मौसमका कारण प्रान्तका केही रेल सेवा पनि स्थगित गरिएको चाइना न्युज सर्भिसले जनाएको छ।

चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले दक्षिणी ग्वाङडोङ र दक्षिणपूर्वी फुजियानका केही क्षेत्रमा भारी वर्षा र शक्तिशाली हावाहुरीको चेतावनी जारी गरेको छ। सरकारी प्रसारण संस्था सीसीटीभीका अनुसार ग्वाङडोङको तटीय हुइलाइ काउन्टीमा आँधीका कारण धेरै रूख ढलेका छन्।

हङकङ विमानस्थल प्राधिकरणका अनुसार आइतबार करिब ३५० उडान रद्द गरिएका छन्। आँधीका कारण हङकङमा कम्तीमा नौ जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार शनिबार टाइफुन हङकङनजिक आइपुग्दा एउटा अग्लो भवनमा जडान गरिएको मचानको केही भाग भत्किएको थियो। उक्त घटनामा भने कुनै मानवीय क्षति भएको छैन।

उता, ताइवानको केन्द्रीय मौसम प्रशासनले ‘नाउल’का कारण दक्षिणी तथा पूर्वी क्षेत्रमा वर्षा भएको जनाएको छ। आँधी ताइवानको दक्षिणी समुद्री क्षेत्र हुँदै चीनतर्फ अघि बढेको थियो।

यसअघि यही महिनाको सुरुमा टाइफुन ‘भाभी’का कारण पूर्वी चीनमा २० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्नुपरेको थियो। त्यसअघि जुलाई ३ मा टाइफुन ‘मेसाक’ पनि दक्षिणी चीनमा ठोक्किएको थियो।

सम्बन्धित समाचार