युवा आन्दोलनको दबाबपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा

9.5k Shares

नयाँ दिल्ली । चिकित्सा शास्त्रको स्नातक तह (नीट) प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणपछि चर्किएको देशव्यापी युवा आन्दोलनको दबाबमा भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्।

लामो समयसम्म राजीनामाको माग अस्वीकार गर्दै आएको सरकार अन्ततः सडक आन्दोलनको तीव्र दबाबपछि पछि हट्न बाध्य भएको हो। यो आन्दोलनको नेतृत्व ‘कक्रोच जनता पार्टी’ (सीजेपी) नामक युवा अभियानले गरेको थियो। अमेरिकाको एक विश्वविद्यालयबाट हालै स्नातक गरेका ३० वर्षीय अभिजीत दीपकेले गत मे महिनामा सामाजिक सञ्जालमार्फत अभियान सुरु गरेका थिए।

आन्दोलनको पृष्ठभूमि भारतको सर्वोच्च अदालतमा भएको एक सुनुवाइसँग जोडिएको छ। प्रधानन्यायाधीश सूर्यकान्तले बेरोजगार युवालाई ‘परजीवी’ र ‘साङ्लो (कक्रोच)’ सँग तुलना गरेको अभिव्यक्तिपछि आक्रोशित बनेका दीपकेले सामाजिक सञ्जालमा “देशका लाखौँ साङ्लाहरू एक भए भने के हुन्छ?” भन्ने सन्देश लेखेका थिए। उक्त पोस्ट भाइरल भएपछि उनले भारतीय जनता पार्टी (बीजेपी) लाई व्यङ्ग्य गर्दै ‘कक्रोच जनता पार्टी’ गठनको घोषणा गरेका थिए।

Cockroach1png.jpg

सीजेपीले छोटो समयमै व्यापक लोकप्रियता हासिल गर्‍यो। स्थापना भएको दुई सातामै यसको इन्स्टाग्राम पेजमा २ करोड २० लाखभन्दा बढी फलोअर्स पुगे। सरकारले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सामाजिक सञ्जाल खाता प्रतिबन्ध लगाउने प्रयास गरे पनि त्यो सफल हुन सकेन।

नीट प्रश्नपत्र चुहावटका कारण परीक्षा स्थगित भएपछि करिब २० लाख परीक्षार्थी प्रभावित भएका थिए। परीक्षाको तनावका बीच १२ जना विद्यार्थीले आत्महत्या गरेको घटनापछि सीजेपीले पीडित परिवारलाई क्षतिपूर्ति र शिक्षामन्त्रीको राजीनामालाई मुख्य माग बनाएको थियो।

जुनको सुरुवातमा राजनीतिक दलका रूपमा दर्ता भएको सीजेपीले अभिजीत दीपकेको नेतृत्वमा नयाँ दिल्लीमा प्रदर्शन सुरु गर्‍यो। सामाजिक सञ्जालबाट सुरु भएको अभियान सडक आन्दोलनमा परिणत हुँदा जेन–जी र मिलेनियल पुस्ताका युवाको उल्लेख्य सहभागिता देखिएको थियो। आन्दोलनकारीले शैक्षिक सुधार, नातावादको अन्त्य र शक्तिको दुरुपयोगविरुद्ध नाराबाजी गरेका थिए।

आन्दोलनलाई थप सशक्त बनाउन सीजेपीले दिल्लीको जन्तर–मन्तरमा धर्ना सुरु गरेको थियो। लद्दाखका इन्जिनियर तथा वातावरण अभियन्ता सोनम वाङचुकले पनि आन्दोलनलाई समर्थन गर्दै भोक हड्ताल सुरु गरेका थिए।

जुलाई २० मा आयोजित ‘संसद् चलो’ प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा धेरै युवा घाइते भएका थिए। त्यसपछि पनि आन्दोलन लगातार जारी रह्यो।

यसैबीच, २६ दिन लामो अनशनमा बसेका वाङचुकले सरकारले आफ्ना प्रमुख माग पूरा गर्ने लिखित प्रतिबद्धता जनाएपछि अनशन तोडेका छन्। केन्द्रीय मन्त्री जेपी नड्डाले प्रश्नपत्र चुहावटसँग सम्बन्धित आत्महत्या गरेका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने र आन्दोलनकारीमाथि कुनै कारबाही नगर्ने लिखित आश्वासन दिएका छन्।

सीजेपीको आह्वानमा भारतका विभिन्न सहरमा प्रदर्शन फैलिएको थियो। आन्दोलनलाई कंग्रेस आईसहित प्रमुख विपक्षी दलहरूले पनि खुला समर्थन जनाएका थिए।

image-240.png

सम्बन्धित समाचार