महोत्तरी । उन्नत तथा विकासे जातका बालीको विस्तारसँगै महोत्तरीसहित मधेशका ग्रामीण क्षेत्रमा रैथाने धान, मकै, तरकारी तथा अन्य स्थानीय बाली क्रमशः लोप हुँदै गएका छन्।
कृषकका अनुसार केही स्थानीय प्रजाति पूर्ण रूपमा हराइसकेका छन् भने कतिपय लोपोन्मुख अवस्थामा पुगेका छन्, जसले कृषि प्रणालीसँगै सामाजिक, आर्थिक र सांस्कृतिक जीवनमा समेत असर पारेको छ।
महोत्तरीको गौशाला–७ जमुनियाकी ७४ वर्षीया कृषक आशादेवीका अनुसार आफूले चिनेका दर्जनभन्दा बढी रैथाने धानका प्रजाति अहिले खेतीबाट हराइसकेका छन्।
हरिनकेर, तन्गी, गोला, नाजिर, कमलखोर, कमलकाँटी, गोखुलसार, साहमर्दन, मालभोग, बच्ची, जसवा, बाहरनी र मन्सरीजस्ता धानका प्रजाति अहिले देखिन छाडेको उहाँले बताउनुभयो। स्वाद, सुगन्ध र गुणस्तरका लागि प्रसिद्ध करियाकामत (कमोद) धान पनि लोपोन्मुख अवस्थामा पुगेको छ भने बासमती धान पनि मुस्किलले जोगिएको उहाँको भनाइ छ।
स्थानीयवासीका अनुसार रैथाने धान हराउँदै जाँदा उत्पादन प्रणाली मात्र होइन, परम्परागत जीवनशैलीमा समेत परिवर्तन आएको छ। वर्षभरि सिँचाइ सुविधा उपलब्ध हुने भएकाले ‘धानको माइतीघर’ भनेर चिनिने जमुनियामा अहिले विकासे जातका धानले स्थानीय प्रजातिलाई विस्थापित गरेका छन्।
स्थानीय अगुवा कृषक रुद्रनारायण चौधरीका अनुसार रैथाने धानका बोट अग्ला हुने भएकाले त्यसको पराल पशुचौपायाको आहार, गुन्द्री (चटाइ) बुन्न, पिर्का बनाउन र घरको छाना छाउन प्रयोग हुन्थ्यो। विकासे धानको विस्तारसँगै परालको अभाव भएपछि पशुपालनसमेत प्रभावित भएको उहाँको भनाइ छ।
उहाँका अनुसार स्थानीय धान रोग प्रतिरोधी र स्थिर उत्पादन दिने भए पनि विकासे धानले सुरुमा राम्रो उत्पादन दिए पनि पछि उब्जनी घट्ने र रोगको प्रकोप बढ्ने समस्या देखिएको छ। यसका कारण किसानले महँगा विषादी प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
रैथाने बालीसँगै परम्परागत बिउ संरक्षण प्रणाली पनि हराउँदै गएको छ। पहिले किसानले धानको बिउ परालको ‘मोरियारी’मा राखी गोबर र माटोले लिपेर सुरक्षित भण्डारण गर्ने चलन थियो।
यसरी राखिएको बिउ लामो समयसम्म सुरक्षित रहने, राम्रोसँग उम्रने र रोगकिराको समस्या कम हुने गरेको स्थानीयको अनुभव छ। अहिले आयातित तथा प्याकेटमा उपलब्ध उन्नत बिउको प्रयोग बढेसँगै यो परम्परागत विधि पनि हराउँदै गएको छ।
कृषकका अनुसार स्थानीय धानसँगै खेतमा पाइने भ्यागुता, गँगटा, स्थानीय माछा, चिसापानी जातको ‘कच्चु’ आलु, स्थानीय मकै, जुनेलो, सानो रैथाने काउली, हरियो बित्ते घिरौला, कोदो र शुद्ध तेल दिने फिलुङ्गे जस्ता स्थानीय बाली तथा जैविक विविधता पनि क्रमशः लोप हुँदै गएका छन्।
कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख देवानन्द रायले रैथाने बाली विस्थापनसँगै कृषिक्षेत्रमा नयाँ चुनौती थपिएको स्वीकार गर्दै उन्नत जातले उत्पादन बढाए पनि स्वाद, सुगन्ध, गुणस्तर र रोग प्रतिरोधात्मक क्षमताका हिसाबले रैथाने बालीको विकल्प बन्न नसकेको बताए। उहाँका अनुसार नयाँ जातसँगै देखिएका रोगका कारण उत्पादनमा समेत असर परेको छ, त्यसैले स्थानीय बालीको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिन आवश्यक रहेको छ।