अमेरिकाको नयाँ आयात शुल्कप्रति चीनको कडा आपत्ति

4k Shares

बेइजिङ । संयुक्त राज्य अमेरिकाले चीनसहित ६० व्यापारिक साझेदारमाथि नयाँ आयात शुल्क लागू गरेपछि चीनले त्यसको कडा विरोध गर्दै वासिङ्टनलाई व्यापार युद्धको बाटो नसमाउन चेतावनी दिएको छ। बेइजिङले एकपक्षीय कर नीतिले विश्व व्यापार प्रणालीमा थप तनाव सिर्जना गर्ने जनाएको छ।

अमेरिकाले शुक्रबारदेखि लागू गरेको नयाँ आयात शुल्क १० देखि १२.५ प्रतिशतसम्म रहेको छ। यसअन्तर्गत चीनलाई सबैभन्दा उच्च १२.५ प्रतिशत शुल्कको दायरामा राखिएको छ। अमेरिकी प्रशासनले जबर्जस्ती श्रमबाट उत्पादित वस्तुको आयात नियन्त्रण गर्ने उद्देश्यले नयाँ नीति लागू गरिएको जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित पत्रकार सम्मेलनमा सबै प्रकारका एकपक्षीय आयात शुल्कको चीनले विरोध गर्ने स्पष्ट पारे। उनले व्यापार युद्ध वा शुल्क युद्ध कुनै पनि पक्षको हितमा नहुने उल्लेख गर्दै यस्ता कदमले सहकार्यभन्दा द्वन्द्वलाई बढावा दिने चेतावनी दिए।

यता अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले संयुक्त राज्य अमेरिकाले लामो समयदेखि जबर्जस्ती श्रमबाट उत्पादित वस्तुको आयातमा कडा प्रतिबन्ध लगाउँदै आएको र व्यापारिक साझेदारहरूले पनि त्यही स्तरको प्रतिबद्धता देखाउनुपर्ने समय आएको बताएका छन्।

नयाँ शुल्क व्यवस्था यस वर्षको सुरुआतमा राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको अस्थायी विश्वव्यापी आयात शुल्कको स्थानमा आएको हो। फेब्रुअरीमा अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपतिको केही शुल्कसम्बन्धी अधिकार सीमित गरेपछि ट्रम्प प्रशासनले नयाँ कानुनी आधारमा संशोधित शुल्क नीति लागू गरेको जनाएको छ।

घोषणाअनुसार क्यानाडा, युरोपेली सङ्घ (ईयू) र संयुक्त अधिराज्यजस्ता जबर्जस्ती श्रमसम्बन्धी प्रतिबन्ध लागू गरेका मुलुकलाई १० प्रतिशत शुल्क लगाइएको छ भने चीन, भारत, जापानलगायत प्रमुख व्यापारिक साझेदारमाथि १२.५ प्रतिशतसम्मको उच्च शुल्क लागू गरिएको छ।

tax.jpg

गत वर्ष राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको भेटवार्तापछि दुवै देशबीचको व्यापारिक तनाव केही समय मत्थर बनेको थियो। यस वर्ष ट्रम्पको बेइजिङ भ्रमणपछि पनि शुल्क घटाउने संकेत देखिएको थियो। तर पछिल्लो अमेरिकी निर्णयसँगै विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापारिक तनाव पुनः चर्किने सम्भावना बढेको विश्लेषण गरिएको छ।

सम्बन्धित समाचार