राष्ट्रिय परिचयपत्र बनाउन सप्तरी प्रशासनमा भीड

1.3k Shares

सप्तरी । राष्ट्रिय परिचयपत्र अनिवार्य हुने सरकारी व्यवस्थासँगै जिल्ला प्रशासन कार्यालय सप्तरीमा विवरण दर्ता (फारम भर्ने) सेवाग्राहीको भीड उल्लेख्य रूपमा बढेको छ। सरकारी सेवा, सामाजिक सुरक्षा भत्ता, राहदानी, बैंकिङ सेवा तथा अन्य सार्वजनिक सेवामा राष्ट्रिय परिचयपत्र आवश्यक हुन थालेपछि दैनिक सयौँ नागरिक कार्यालय पुग्न थालेका हुन्।

यस वर्षदेखि बैंक खाताको ‘केवाईसी’ अद्यावधिक गर्न पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि धेरै नागरिक हतारहतार परिचयपत्र बनाउन आएका छन्।

राजविराज–७ निवासी रिता यादवले राष्ट्रिय परिचयपत्र तत्काल आवश्यक नपर्ला भन्ने लागेको भए पनि केवाईसी अद्यावधिक नगर्दा बैंकिङ कारोबार प्रभावित हुने भएपछि फारम भर्न आएको बताइन्।

सेवाग्राहीको संख्या बढेसँगै जिल्ला प्रशासन कार्यालयमा घण्टौँसम्म पालो कुर्नुपर्ने अवस्था सिर्जना भएको छ। कतिपय नागरिक कार्यालय खुल्नुअघि नै लाइनमा बस्न बाध्य भएका छन्।

स्थानीय सेवाग्राही अञ्जली रजकका अनुसार सीमित जनशक्ति र आवश्यक व्यवस्थापनको अभावका कारण सेवा प्रवाह अपेक्षाअनुसार छिटो हुन सकेको छैन। उनले भीड व्यवस्थापन, पर्याप्त प्रतीक्षालय र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन्।

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिने नागरिकको संख्या दैनिक बढिरहेको स्वीकार गर्दै उपलब्ध जनशक्ति र स्रोत–साधनका आधारमा सेवा प्रवाह भइरहेको बताए।

उनका अनुसार नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउन थप व्यवस्थापन तथा आवश्यक स्रोत जुटाउने पहलसमेत भइरहेको छ।

सम्बन्धित समाचार