वर्षायाममा सतर्कता अपनाउन आग्रह, बारामा चार बालबालिकाको मृत्यु

2.2k Shares

बारा । बारामा पानीमा डुबेर बालबालिकाको ज्यान जाने घटना लगातार बढ्दै गएको छ। पछिल्लो एक सातामै चार बालबालिकाले डुबेर ज्यान गुमाएपछि वर्षायाममा बाल सुरक्षा र अभिभावकको सतर्कताबारे गम्भीर चिन्ता व्यक्त हुन थालेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार शुक्रबार कलैया उपमहानगरपालिका–१० मटिअर्वाका मोबारक मियाकी छ महिनाकी छोरी सनाया खातुन घरको आँगनमा खेल्ने क्रममा नजिकै बगेको नहरमा खसेर डुबेकी थिइन्। परिवारले तत्काल उद्धार गरी प्रादेशिक अस्पताल कलैयामा उपचारका लागि पुर्‍याए पनि चिकित्सकले साँझ ६:३० बजे उनलाई मृत घोषणा गरेका थिए।

यसअघि सोमबार जितपुरसिमरा उपमहानगरपालिका–७ को पहाडी टोलस्थित सरिसवा नदीमा डुबेर तीन वर्षीया फुलतारा खातुनको मृत्यु भएको थियो। जितपुरसिमरा–३ निवासी अली हुसेनकी छोरी फुलतारा आफन्तको घरमा खेल्ने क्रममा नदीमा डुबेको प्रहरीले जनाएको छ। उनकी आमाले तत्काल उद्धार गरी नगर अस्पताल सिमरामा पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार यही साताभित्र जिल्लाका अन्य स्थानमा धानखेतमा जमेको पानी, पोखरी तथा अन्य जलाशयमा डुबेर थप दुई बालिकाको पनि मृत्यु भइसकेको छ। पछिल्ला सबै घटनामा बालबालिकाले ज्यान गुमाएकाले अभिभावक, स्थानीय समुदाय र सम्बन्धित निकायले थप सतर्कता अपनाउनुपर्ने आवश्यकता देखिएको छ।

लगातारको वर्षासँगै नदी, नहर, खोल्सा, पोखरी तथा खेतमा पानीको सतह बढेकाले बालबालिकालाई पानी नजिक एक्लै खेल्न नदिन, घर वरपरका खुला नहर तथा जलाशय सुरक्षित बनाउन र जोखिमयुक्त स्थानमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरोकारवालाले आग्रह गरेका छन्।

छोटो अवधिमै डुबेर बालबालिकाको मृत्युका घटना दोहोरिनुले वर्षायाममा बाल सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता अझ स्पष्ट भएको छ।

सम्बन्धित समाचार