नेपाली सेयर बजारमा लगातार दोस्रो दिन पनि हरियाली देखिएको छ। अघिल्लो कारोबार दिन १४.१७ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक शुक्रबार थप ७.९० अंकले उकालो लाग्दै २,७३४.०५ बिन्दुमा पुगेको छ। यो स्तर जेठ २७ यताकै उच्च हो।
कारोबार सुरु भएपछि बजारले तीव्र गति लिँदै दिउँसो ११:४६ बजे २,७४७ अंकसम्म पुगेको थियो। त्यसपछि भने बजारको वृद्धि केही सुस्त बने पनि अन्त्यसम्म सकारात्मक लय कायम रह्यो।
शुक्रबार १४३ कम्पनीको सेयर मूल्य बढ्दा ११८ कम्पनीको घट्यो भने १५ कम्पनीको मूल्य स्थिर रह्यो। बजारसँगै कारोबार रकममा पनि उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो दिन ४ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ६ अर्ब २६ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ।
बजार वृद्धिमा बैंकिङ समूहको सबैभन्दा ठूलो योगदान रह्यो। समग्र नेप्से ०.२८ प्रतिशतले बढ्दा बैंकिङ उपसमूह १.१७ प्रतिशतले उकालो लागेको छ। विकास बैंक ०.९६ प्रतिशत, होटल तथा पर्यटन ०.४२ प्रतिशत, जीवन बीमा ०.१३ प्रतिशत, माइक्रोफाइनान्स ०.३६ प्रतिशत र निर्जीवन बीमा ०.०२ प्रतिशतले वृद्धि भएका छन्।
यता व्यापार, उत्पादन तथा प्रशोधन, जलविद्युत् र फाइनान्स समूह भने सामान्य ओरालो लागेका छन्। उत्पादन तथा प्रशोधन ०.५९ प्रतिशत, जलविद्युत् ०.१२ प्रतिशत र फाइनान्स ०.१५ प्रतिशतले घटेका हुन्।
हालै सूचीकृत एभरेस्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। त्यसपछि सगरमाथा जलविद्युत्, खानीखोला हाइड्रोपावर, झापा इनर्जी र दारामखोला हाइड्रो इनर्जीका लगानीकर्ताले उल्लेखनीय लाभ कमाएका छन्।
यता कर्पोरेट डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल (बालाजु), नाडेप लघुवित्त र सोलु हाइड्रोपावरका सेयर मूल्यमा गिरावट आएको छ।
कारोबार रकमका आधारमा रिडी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, कुमारी बैंक, आँखुखोला जलविद्युत् र रिलायन्स स्पिनिङ मिल्स सर्वाधिक कारोबार हुने कम्पनीमा परेका छन्।