भारत भ्रमणमा रहेका प्रधानन्यायाधीश मनोज शर्मालाई भारतीय सर्वोच्च अदालतमा औपचारिक स्वागत

2.2k Shares

भारत भ्रमणमा रहेका नेपालसहित विभिन्न देशका प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको प्रतिनिधिमण्डललाई भारतीय सर्वोच्च अदालतमा शुक्रबार औपचारिक स्वागत गरिएको छ। भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्य कान्तले इजलास नम्बर–१ मा प्रतिनिधिमण्डललाई स्वागत गर्नुभएको थियो।

कार्यक्रममा भारतका महान्यायाधिवक्ता आर. वेन्कटारमणीले विदेशी प्रतिनिधिमण्डललाई स्वागत गर्दै भारत विविध संस्कृति, परम्परा तथा न्यायिक मूल्य–मान्यताको सङ्गमस्थल भएको उल्लेख गर्नुभयो। उहाँले विभिन्न मुलुकका न्यायपालिकाबीच अनुभव आदान–प्रदान र सहकार्य विस्तारले न्याय प्रणालीलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी भारतका सोलिसिटर जनरल तुषार मेहताले स्वागत मन्तव्य राख्दै छोटो भ्रमणबाट भारतलाई पूर्ण रूपमा बुझ्न सम्भव नहुने धारणा राख्नुभयो।

‘यो छोटो भ्रमणले देशको थोरै मात्र जानकारी प्राप्त हुने भएकाले विविधतायुक्त विशाल भारतलाई बुझ्न दुई दिनको समय निकै कम हुन्छ,’ उहाँले भन्नुभयो।

उहाँले भारतको भौगोलिक, सांस्कृतिक र कानुनी विविधतालाई नजिकबाट बुझ्न लामो समय आवश्यक पर्ने उल्लेख गर्दै भ्रमणका क्रममा सकेसम्म धेरै अनुभव लिन विदेशी प्रतिनिधिमण्डललाई आग्रह गर्नुभयो।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले भारतीय सर्वोच्च अदालतको कार्यप्रणाली, डिजिटल न्याय सेवा, मुद्दा व्यवस्थापन प्रणाली तथा न्याय प्रशासनका आधुनिक अभ्यासबारे जानकारी लिने कार्यक्रम रहेको बताइएको छ। साथै, विभिन्न देशका न्यायपालिकाबीच संस्थागत सहकार्य र अनुभव आदान–प्रदानलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल हुने जनाइएको छ।

सम्बन्धित समाचार