रेड सीमा हुथी आक्रमण रोक्न ईयूको आग्रह, समुद्री सुरक्षामा बढ्यो चिन्ता

13.7k Shares

ब्रसेल्स । युरोपेली सङ्घ (ईयू) ले रेड सी क्षेत्रमा हुथी विद्रोहीद्वारा भइरहेका जहाजमाथिका आक्रमण तत्काल रोक्न आग्रह गरेको छ। इरान समर्थित यमनी हुथी विद्रोहीले साउदी अरेबियासँग सम्बन्धित तेल ट्याङ्करमा आक्रमण गरेपछि ईयूले समुद्री सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो।

ईयूकी विदेश तथा सुरक्षा नीति प्रमुख काजा कल्लासले बिहीबार जारी गरेको विज्ञप्तिमा रेड सीमा तेल ट्याङ्करमाथि भएको आक्रमणलाई अस्वीकार्य, अवैध र क्षेत्रीय अस्थिरता बढाउने कार्य भन्दै कडा शब्दमा निन्दा गरेकी छन्।

उनले अन्तर्राष्ट्रिय समुद्री ढुवानी र जलमार्ग प्रयोग गर्ने जहाज तथा समुद्री कर्मचारीको सुरक्षामा खतरा उत्पन्न हुने गतिविधि तत्काल बन्द गर्न हुथी विद्रोहीलाई आग्रह गरिन्।

रेड सीमा साउदी ढुवानीमाथिको पछिल्लो आक्रमणले मध्यपूर्वमा जारी तनावलाई थप चर्काएको छ। यस घटनापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसमेत बढ्न थालेको छ।

हप्ताको सुरुतिर हुथी समूहले साउदी बन्दरगाहमा नाकाबन्दी घोषणा गर्दै दुई वटा साउदी तेल ट्याङ्करमा आक्रमण गरेको दाबी गरेको थियो।

कल्लासले रेड सीको महत्वपूर्ण अन्तर्राष्ट्रिय जलमार्गमा जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न परिचालित ईयूको नौसैनिक मिसन समुद्री यातायातको स्वतन्त्रता र सुरक्षाको रक्षा गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि बताइन्।

सम्बन्धित समाचार