जनकपुरधाम । धान रोपाइँको मुख्य समयमा रासायनिक मलको अभाव झेलिरहेका धनुषाका किसानलाई लक्षित गर्दै कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामले मधेश प्रदेश सरकारको ‘बफर’ कोटाअन्तर्गत युरिया र डीएपी मल वितरण सुरु गरेको छ।
स्थानीय तहको सिफारिसका आधारमा बफर कोटाको मल बिक्री–वितरण सुरु गरिएको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामका सूचना अधिकारी बेचन साहले जानकारी दिए। उनका अनुसार मधेश प्रदेश सरकारको गत ३१ असारको निर्णयअनुसार स्थानीय तहगत रूपमा निर्धारण गरिएको कोटाबमोजिम किसानलाई मल उपलब्ध गराउन थालिएको हो।
उनले बफर कोटाको वितरणसँगै जिल्लामा केही समयअघिसम्म देखिएको डीएपी मलको अभाव क्रमशः हट्दै गएको बताए। साउनको दोस्रो सातासम्म थप युरिया र डीएपी मल आइपुग्ने भएकाले मल अभाव पूर्ण रूपमा अन्त्य हुने अपेक्षा गरिएको छ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा धनुषामा १८ हजार ७४५.१ मेट्रिक टन रासायनिक मल किसानलाई वितरण गरिएको छ। यसमध्ये ११ हजार २४१.३५ मेट्रिक टन युरिया, ६ हजार ९६३.३ मेट्रिक टन डीएपी, ३७९.५५ मेट्रिक टन पोटास र १६०.९ मेट्रिक टन कृषि चुन वितरण गरिएको छ।
त्यसैगरी, सोही अवधिमा कार्यालयले १० हजार ६१८.५ मेट्रिक टन युरिया, ७ हजार २८९ मेट्रिक टन डीएपी, ४६३ मेट्रिक टन पोटास र २३५ मेट्रिक टन कृषि चुन प्राप्त गरेको जनाएको छ। प्राप्त अधिकांश मल किसानसम्म पुगिसकेको कार्यालयको भनाइ छ।
कार्यालय प्रमुख ध्रुव चौधरीले धान रोपाइँलाई लक्षित गर्दै मलको नियमित आपूर्ति, मौज्दात व्यवस्थापन र वितरण प्रक्रियालाई व्यवस्थित बनाइएको बताए। किसानको मागअनुसार थप मल उपलब्ध गराउन आवश्यक समन्वय भइरहेको र केही दिनभित्रै थप मल आइपुग्ने उनले जानकारी दिए।