नयाँ दिल्ली । दिल्लीको जन्तर–मन्तरमा जारी प्रदर्शनका बीच कक्रोच जनता पार्टी (सीजेपी)ले भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाभन्दा कममा कुनै सम्झौता नहुने स्पष्ट पारेको छ।
पार्टीका मुख्य प्रवक्ता सौरभ दासले पत्रकारहरूसँग कुरा गर्दै आन्दोलन शान्तिपूर्ण र अनुशासित रूपमा अघि बढाइने बताएका छन्। उनले आन्दोलनमा सहभागी सबैलाई संयम अपनाउन र कुनै पनि उक्साहटमा नपर्न आग्रह गरिएको जानकारी दिए।
दासका अनुसार उनले आन्दोलनका अगुवा सोनम वाङचुकसँग पटक–पटक छलफल गरेका छन्। वाङचुकले पनि आन्दोलनलाई शान्तिपूर्ण ढंगले अगाडि बढाउन प्रदर्शनकारीलाई अपिल गरेको उनले बताए।
‘विगतमा भएका आन्दोलनमा असामाजिक तत्व घुसाएर आन्दोलनलाई बदनाम गर्ने प्रयास भएका उदाहरण छन्। यसपटक त्यस्तो अवस्था आउन नदिन सबैले सतर्क रहनुपर्छ,’ दासले भने।
केन्द्रीय मन्त्री जेपी नड्डाको पत्रकार सम्मेलनप्रति प्रतिक्रिया दिँदै दासले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनैपर्ने अडान दोहोर्याए। उनले ३० दिनभन्दा बढी समयदेखि प्रदर्शन जारी रहे पनि सरकार गम्भीर नदेखिएको आरोप लगाउँदै मन्त्रीको राजीनामा नभएसम्म आन्दोलन नरोकिने बताए।
यसअघि केन्द्रीय मन्त्री जेपी नड्डाले विपक्षी दलहरूले आन्दोलनलाई राजनीतिक स्वार्थका लागि प्रयोग गरिरहेको आरोप लगाएका थिए। उनले सरकारले संवादका लागि आफूहरू तयार रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रसँग सम्बन्धित विषयमा संसदमा गम्भीर र विस्तृत छलफल हुनुपर्ने बताएका थिए।
नड्डाले बालबालिकाको भविष्यसँग जोडिएको विषय भएकाले सरकार र विपक्ष दुवैले साझा जिम्मेवारीका साथ दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।