नास्पातीभित्र लुकाइएको ६५२ किलो गाँजाजस्तो पदार्थ बरामद
3.1k
Shares
सिरहा । सिरहाको लहान नगरपालिका–३, नयाँबस्ती टोलमा नास्पातीका क्रेटभित्र लुकाएर राखिएको ठूलो परिमाणको गाँजाजस्तो देखिने पदार्थ प्रहरीले बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विशेष सूचनाका आधारमा पार्किङ अवस्थामा रहेको बा२१च ५६६६ नम्बरको योद्धा पिकअपमा खानतलासी गर्दा नास्पातीका ४६ वटा क्रेटभित्र बोरामा लुकाएर राखिएको गाँजाजस्तो पदार्थ फेला परेको हो।
प्रहरीका अनुसार बरामद गरिएको गाँजाजस्तो पदार्थको तौल प्लास्टिकसहित ६६३ किलोग्राम र प्लास्टिक हटाउँदा ६५२ किलोग्राम रहेको छ। साथै पिकअपमा रहेको करिब ९ हजार ९२० किलोग्राम नास्पाती पनि नियन्त्रणमा लिइएको छ।
घटनामा संलग्न रहेको आरोपमा लहान नगरपालिका–३ का ३८ वर्षीय श्यामकुमारी साह, भारतको बिहार राज्य मधुवनी जिल्ला घर भई हाल लहान–३ बस्दै आएका ४० वर्षीय गौरव महतो तथा उनका १९ वर्षीय छोरा शिवम साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा ठूलो परिमाणमा लागुऔषध बरामद भएको हो।
प्रहरीले पक्राउ परेका तीनै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। साथै बरामद गरिएको गाँजाजस्तो पदार्थको स्रोत, गन्तव्य र यस घटनामा संलग्न अन्य व्यक्तिको पहिचानका लागि अनुसन्धानलाई थप विस्तार गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको पिकअप, गाँजाजस्तो पदार्थ र अन्य सामग्री नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।