सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले नेपाल प्रहरीको मासिक कार्यसम्पादन मूल्याङ्कनमा उल्लेखनीय सफलता हासिल गर्दै ‘घ’ वर्गअन्तर्गतका २५ जिल्ला प्रहरी कार्यालयमध्ये पहिलो स्थान प्राप्त गरेको छ।
केही महिनाअघि १९औँ स्थानमा रहेको सल्यान प्रहरी कार्यालयले निरन्तर कार्यसम्पादन सुधार गर्दै जेठ महिनामा दोस्रो स्थान हासिल गरेको थियो। त्यसपछि असार महिनाको मूल्याङ्कनमा सर्वाधिक अंक प्राप्त गर्दै देशकै उत्कृष्ट जिल्ला प्रहरी कार्यालय बन्न सफल भएको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार प्रहरी नेतृत्व, सम्पूर्ण प्रहरी कर्मचारीको सक्रियता, प्रभावकारी समन्वय र निरन्तरको मेहनतका कारण यो सफलता सम्भव भएको हो।
नेपाल प्रहरी प्रधान कार्यालयले प्रत्येक महिना जिल्ला प्रहरी कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ। मूल्याङ्कनमा अपराध नियन्त्रण तथा अनुसन्धान, शान्ति–सुरक्षा व्यवस्थापन, सेवा प्रवाह, प्रशासनिक अनुशासन, मानवअधिकारको पालना, नागरिकसँगको समन्वय, फरार प्रतिवादी पक्राउ, राजस्व असुली, विपद् व्यवस्थापन, जनगुनासो फर्छ्योट तथा आन्तरिक अनुशासनलगायतका सूचकलाई आधार बनाइन्छ।
ती सबै सूचकमा उत्कृष्ट कार्यसम्पादन गर्दै सल्यान प्रहरीले १९औँ स्थानबाट पहिलो स्थानसम्मको यात्रा तय गरेको हो।
जिल्ला प्रहरी कार्यालयले यस उपलब्धिले नागरिकप्रति अझ जिम्मेवार र उत्तरदायी भएर सेवा प्रवाह गर्न प्रेरणा मिलेको जनाएको छ। साथै आगामी दिनमा शान्ति–सुरक्षा सुदृढ बनाउने, अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने र नागरिकमैत्री प्रहरी सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।