चीनविरुद्ध अमेरिकी सांसदको गम्भीर आरोप

2.3k Shares

वासिङ्टन । अमेरिकी सांसदहरूले संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति स्थापना (पिसकिपिङ) मिसनमार्फत चीनले रणनीतिक जासुसी गरिरहेको आरोप लगाएका छन्। अमेरिकी कंग्रेसमा संयुक्त राष्ट्रसंघको बजेट तथा सुधारसम्बन्धी सुनुवाइका क्रममा सांसदहरूले चीनको बढ्दो प्रभावप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्।

सुनुवाइका क्रममा रिपब्लिकन सांसद शेरी बिग्सले चीनले संयुक्त राष्ट्रसंघको शान्ति मिसनलाई बेल्ट एन्ड रोड इनिसिएटिभसँग सम्बन्धित रणनीतिक क्षेत्र, बन्दरगाह, खनिज स्रोत र सम्भावित सैन्य अड्डा नजिक केन्द्रित गरेको दाबी गर्नुभयो। उहाँले यस गतिविधिले सैन्य तथा गुप्तचर उद्देश्य पूरा गर्ने आशंका रहेको बताउनुभयो।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले पनि चिनियाँ शान्ति सैनिकहरू अन्य सदस्य राष्ट्रका तुलनामा राम्रो तयारी र उपकरणसहित परिचालन हुने गरेको उल्लेख गर्दै उनीहरूले चिनियाँ कम्युनिस्ट पार्टीका लागि ‘आँखा र कान’ को भूमिकासमेत निर्वाह गरिरहेको हुन सक्ने आशंका व्यक्त गर्नुभयो।

सुनुवाइमा अमेरिकी सांसदहरूले संयुक्त राष्ट्रसंघभित्र चीनको बढ्दो प्रभाव, ताइवानको सहभागिता सीमित गर्ने प्रयास तथा बेल्ट एन्ड रोड परियोजनामार्फत विभिन्न देशको समर्थन हासिल गरिएको विषयमा समेत प्रश्न उठाएका थिए।

यता वासिङ्टनस्थित चिनियाँ दूतावासले भने अमेरिकी सांसदहरूको आरोपलाई निराधार भन्दै अस्वीकार गरेको छ। दूतावासका प्रवक्ता लिउ च्याङले संयुक्त राष्ट्रसंघमा सदस्य राष्ट्रहरूले आफ्ना राष्ट्रिय हितका आधारमा स्वतन्त्र निर्णय गर्ने गरेको उल्लेख गर्दै शीतयुद्धकालीन मानसिकताबाट यस्ता आरोप लगाउन नहुने प्रतिक्रिया दिनुभएको छ।

उक्त सुनुवाइका क्रममा संयुक्त राष्ट्रसंघको बजेट, संस्थागत सुधार तथा इरानसँगको सैन्य तनावका विषयमा रिपब्लिकन र डेमोक्रेट सांसदबीच पनि चर्को बहस भएको थियो।

सम्बन्धित समाचार