युक्रेनका सेना प्रमुख सिर्स्की पदमुक्त, मिखाइलो ड्रापाती बने नयाँ कमाण्डर

3.1k Shares

काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले देशका सेना प्रमुख (कमाण्डर–इन–चीफ) ओलेक्सान्द्र सिर्स्कीलाई पदबाट हटाउँदै ४३ वर्षीय युद्धअनुभवी जनरल मिखाइलो ड्रापातीलाई नयाँ सेना प्रमुख नियुक्त गरेका छन्।

यो निर्णय केही दिनअघि तत्कालीन रक्षा मन्त्री मिखाइलो फेदोरोभलाई पदबाट हटाइएपछि उत्पन्न राजनीतिक बहस र विरोध प्रदर्शनको पृष्ठभूमिमा आएको हो।

सुरुमा फेदोरोभको बहिर्गमन सिर्स्कीसँगको मतभेदका कारण भएको हुन सक्ने चर्चा चलेको थियो। सिर्स्कीलाई पनि पदमुक्त गरिएपछि ती अड्कलबाजीले थप बल पाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

नवनियुक्त सेना प्रमुख ड्रापातीलाई युक्रेनी सेनाभित्र आधुनिक सैन्य रणनीति, नवप्रवर्तन र नेतृत्व क्षमताका लागि परिचित कमाण्डरका रूपमा हेरिन्छ। त्यसको विपरीत ६० वर्षीय सिर्स्कीलाई सोभियतकालीन सैन्य शैलीमा विश्वास गर्ने कमाण्डरका रूपमा आलोचना हुने गरेको थियो।

पदभार ग्रहण गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै ड्रापातीले देशको रक्षाका लागि पूर्ण जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले अग्रपङ्क्तिमा खटिएका सैनिकप्रति सम्मान व्यक्त गर्दै सिर्स्कीले युक्रेनी सेनालाई सुदृढ बनाउन पुर्‍याएको योगदानको पनि प्रशंसा गरेका छन्।

राष्ट्रपति जेलेन्स्कीले मंगलबार राति सार्वजनिक गरेको भिडियो सन्देशमा सिर्स्कीको सेवाको उच्च मूल्याङ्कन गर्दै सन् २०२२ मा रुसले पूर्ण आक्रमण सुरु गर्दा राजधानी किएभको सफल प्रतिरक्षामा उनले खेलेको भूमिकाको विशेष प्रशंसा गरेका छन्।

यसैबीच, जेलेन्स्कीले पूर्वरक्षा मन्त्री फेदोरोभसँग पनि भेटवार्ता भएको जानकारी दिँदै उनलाई सरकारभित्रै उपयुक्त जिम्मेवारी प्रस्ताव गरिएको बताएका छन्। तर फेदोरोभले उक्त प्रस्ताव स्वीकार गरेका छन् वा छैनन् भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

फेदोरोभको स्थानमा गत साता युक्रेनको सुरक्षा सेवा (एसबीयु) का पूर्वउच्च अधिकारी येभहेनी ख्मारालाई कार्यवाहक रक्षा मन्त्री नियुक्त गरिएको थियो। राष्ट्रपति जेलेन्स्कीले सरकारका यी सबै निर्णय कानुनी प्रक्रियाअनुसार औपचारिक रूपमा कार्यान्वयन गरिने बताएका छन्।

सम्बन्धित समाचार