काठमाडौं । भदौ १२ गतेलाई लक्षित गर्दै प्रदर्शन मिति घोषणा गरेका अधिकांश नेपाली फिल्मले अन्ततः आफ्नो रिलिज सारेका छन्। भारतीय सुपरस्टार यश अभिनीत बहुप्रतीयशको ‘टक्सिक’सँग भिड्न तयार ‘पार्वती’, भारतीय फिल्मको दबाबले चार नेपाली फिल्मले सारे प्रदर्शन मिति ।
क्षित फिल्म ‘टक्सिक’ सोही समयमा नेपालमा प्रदर्शन हुने निश्चित भएपछि चार नेपाली फिल्म प्रतिस्पर्धाबाट पछि हटेका हुन्। अब नायिका तथा निर्माता नीता ढुंगानाको फिल्म ‘पार्वती’ मात्र भदौ १२ मै प्रदर्शन हुने भएको छ।
भदौ १२ मा जनैपूर्णिमा, १३ गते शनिबार र १४ गते रोपाइँ जात्राको सार्वजनिक बिदा परेकाले लगातार तीन दिनको बिदा लक्षित गर्दै पाँच नेपाली फिल्मले प्रदर्शन मिति तय गरेका थिए। नेपाली चलचित्र उद्योगमा सार्वजनिक बिदालाई लक्षित गरेर फिल्म प्रदर्शन गर्ने प्रवृत्ति नयाँ होइन। धेरै निर्माता अझै पनि बिदाको समयमा दर्शकको उपस्थिति बढी हुने विश्वासमा प्रदर्शन मिति तय गर्ने गरेका छन्।
तर यसपटक भारतीय फिल्मको प्रभावका कारण अधिकांश निर्माता पछि हटेका छन्। यश अभिनीत ‘टक्सिक’ अगस्ट २६ मा भारतमा प्रदर्शन हुने र त्यसको दुई दिनपछि नेपालमा पनि रिलिज हुने भएपछि नेपाली फिल्म निर्माताले आफ्नो रणनीति परिवर्तन गरेका हुन्।
भदौ १२ मा प्रदर्शनको घोषणा गरेका फिल्ममध्ये प्रियंका कार्कीको ‘मास्टर्नी’ भदौ ५ मा सारिएको छ। पारस बम अभिनीत ‘बेहुली’ भदौ २६ मा पुगेको छ भने नीति शाह, मुकुन भुसाल र ऋचा शर्मा अभिनीत ‘जदौ’ असोज ९ मा प्रदर्शन हुने तय गरिएको छ। निर्देशक मनोज पण्डितको ‘ग्रेट’ ले पनि भदौ १२ को मिति त्यागेको छ, तर नयाँ प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन।
यसरी चार फिल्म पछि हटे पनि ‘पार्वती’ भने निर्धारित मितिमै प्रदर्शन हुने भएको छ। निर्माता तथा मुख्य अभिनेत्री नीता ढुंगानाले भारतीय फिल्मसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्न तयार रहेको संकेत दिएकी छन्।
नेपालमा यशको लोकप्रियता निकै उच्च मानिन्छ। ‘केजीएफ’ शृंखलाले नेपाली बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको थियो। त्यसैले ‘टक्सिक’ ले पनि ठूलो दर्शक आकर्षित गर्ने अपेक्षा गरिएको छ। यही सम्भावित प्रभावलाई ध्यानमा राख्दै अन्य नेपाली फिल्मले प्रदर्शन मिति परिवर्तन गरेको चलचित्र वृत्तमा चर्चा छ।
यसअघि २०७९ सालको नयाँ वर्षमा यश अभिनीत ‘केजीएफ २’ र अनमोल केसी अभिनीत ‘ए मेरो हजुर ४’ बीच प्रत्यक्ष बक्स अफिस प्रतिस्पर्धा भएको थियो। भारतीय फिल्मको उच्च चर्चाका बीच पनि ‘ए मेरो हजुर ४’ ले लगानी उठाउन सफल भएको निर्माताले दाबी गरेका थिए। उक्त प्रतिस्पर्धाले अनमोल केसीको स्टारडमबारे पनि व्यापक चर्चा भएको थियो।
यसपटक त्यही किसिमको चुनौती नीता ढुंगानाले स्वीकार गरेकी छन्। अब भदौ १२ मा नेपाली फिल्म ‘पार्वती’ र भारतीय फिल्म ‘टक्सिक’ बीच हुने बक्स अफिस प्रतिस्पर्धाले नेपाली चलचित्र बजारमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई चलचित्रकर्मी र दर्शक दुवैले चासोका साथ हेरिरहेका छन्।