नेतान्याहु पक्राउबारे न्युयोर्क मेयरको स्पष्टोक्ति

4.6k Shares

न्युयोर्क । न्युयोर्कका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले जारी गरेको पक्राउ पुर्जी कार्यान्वयन गर्ने कानुनी अधिकार न्युयोर्क सहरसँग नभएको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा मेयर ममदानीले नेतान्याहु न्युयोर्क आएमा आईसीसीको पक्राउ पुर्जी कार्यान्वयन गर्न सकिने वा नसकिने विषयमा आफ्नो प्रशासनले कानुनी समीक्षा गरेको र त्यसबाट न्युयोर्क सहरसँग स्वतन्त्र रूपमा यस्तो अधिकार नरहेको निष्कर्ष निकालेको बताए।

उनका अनुसार आईसीसीको पक्राउ पुर्जी कार्यान्वयन गर्ने अधिकार अमेरिकी सङ्घीय सरकारसँग रहेको भन्दै अमेरिकाले अदालतसँग सहकार्य गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।

हेगस्थित आईसीसीले सन् २०२४ मा गाजा युद्धसँग सम्बन्धित कथित युद्ध अपराध तथा मानवताविरुद्धका अपराधमा पर्याप्त आधार रहेको ठहर गर्दै नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। उक्त मुद्दा सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीसँग सम्बन्धित छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतान्याहु आगामी सेप्टेम्बरमा न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भए पनि पक्राउको सामना गर्नुपर्ने अवस्था नआउने आश्वासन दिएका छन्।

मेयर ममदानीले गाजामा भएको मानवीय क्षतिलाई विश्व समुदायले गम्भीर रूपमा लिनुपर्ने बताउँदै आईसीसीले आरोप लगाएका सबै व्यक्तिमाथि समान कानुनी मापदण्ड लागू हुनुपर्ने धारणा दोहोर्याए।

यता, नेतान्याहुको कार्यालयले भने मेयर ममदानीको अभिव्यक्तिको खण्डन गर्दै आईसीसीलाई ‘कङ्गारु अदालत’को संज्ञा दिएको छ।

सम्बन्धित समाचार