दिल्लीमा विद्यार्थी आन्दोलन उग्र, प्रहरी दमनमा सयौँ घाइते

6.4k Shares

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै गरिएको विद्यार्थी प्रदर्शन हिंसात्मक बनेपछि राजधानीका सडकहरू तनावग्रस्त भएका छन्। संसद् भवन अगाडि सोमबार भएको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार र बल प्रयोग गरेपछि १०० भन्दा बढी विद्यार्थी घाइते भएका छन्।

प्रदर्शनपछि सडकभरि भत्किएका ब्यारिकेड, च्यातिएका कपडा, फुटेका चस्मा र रगतका टाटा देखिएका छन्। प्रहरीको व्यापक धरपकड र दमनका बाबजुद आन्दोलनकारी विद्यार्थीहरू आन्दोलन जारी राख्ने अडानमा छन्।

प्रदर्शनमा सहभागी १८ वर्षीय विद्यार्थी अंशुल देवले सरकारले आफ्नै नागरिकलाई अपराधीसरह व्यवहार गरेको आरोप लगाए। उनले आफूहरू देशलाई घृणाको राजनीतिबाट मुक्त गराउन आन्दोलनमा उत्रिएको बताए।

भारतमा विगत दुई महिनादेखि विभिन्न प्रतिस्पर्धात्मक प्रवेश परीक्षामा प्रश्नपत्र चुहावट (पेपर लिक) र उत्तरपुस्तिकाको मूल्याङ्कनमा अनियमितता भएको भन्दै लाखौँ विद्यार्थी आन्दोलनमा छन्। आन्दोलनसँगै बढेको मानसिक तनावका कारण २० भन्दा बढी विद्यार्थीले आत्महत्या गरिसकेको दाबी गरिएको छ।

आन्दोलनकारीहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, अनशनरत अभियन्ता सोनम वाङचुकको अस्पतालबाट रिहाइ तथा आत्महत्या गरेका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेका छन्।

यसैबीच, विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवासबाहिर अन्य सांसदसँग धर्ना दिँदै नागरिकलाई आन्दोलनमा साथ दिन आह्वान गरेका छन्।

सरकार र आन्दोलनकारीबीच भएको वार्ता भने निष्कर्षविहीन बनेको छ। आन्दोलनको नेतृत्व गरिरहेको 'ककरोच जनता पार्टी'का प्रवक्ता आशुतोष रङ्काले स्वास्थ्य मन्त्री जेपी नड्डासँगको वार्ता चार घण्टा पर्खाइपछि जम्मा १० मिनेटमै सकिएको भन्दै त्यसलाई समयको बर्बादी भएको बताएका छन्।

उता प्रहरीले आन्दोलनकारीविरुद्ध तोडफोड र हिंसाको आरोपमा पाँच वटा मुद्दा दर्ता गरेको जनाएको छ। आन्दोलनका अगुवा अभिजीत दिप्केले भने शिक्षा मन्त्रीले राजीनामा नदिएसम्म र माग पूरा नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन्।

image-204.png

विद्यार्थी आन्दोलनको समर्थन गर्दै राहुल गान्धीद्वारा मोदीको राजीनामा माग

भारतका प्रमुख विपक्षी नेता राहुल गान्धीले शिक्षा प्रणाली सुधारको माग गर्दै भइरहेको विद्यार्थी आन्दोलनमाथि प्रहरी दमन भएको आरोप लगाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा माग गरेका छन्।

कांग्रेस नेता गान्धीले मंगलबार प्रधानमन्त्री निवास नजिक विपक्षी सांसदहरूसँग प्रदर्शन गर्दै सामाजिक सञ्जालमार्फत मोदी सरकारले भारतका युवाको भविष्य संकटमा पारेको आरोप लगाए। उनले सरकारले न त जवाफदेहिता लिन चाहेको, न त संसदमा यस विषयमा छलफल गर्न तयार रहेको बताएका छन्।

सोमबार नयाँदिल्लीको जन्तर–मन्तर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा करिब ६० जना प्रदर्शनकारी घाइते भएका थिए। दिल्ली प्रहरीका अनुसार घटनामा ११८ जना प्रहरीसमेत घाइते भएका छन्।

'ककरोच जनता पार्टी' (सीजेपी) नामक अनलाइन अभियानको आह्वानमा हजारौँ विद्यार्थी र युवाहरू शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा तथा परीक्षा प्रणालीमा सुधारको माग गर्दै सडकमा उत्रिएका थिए।

प्रहरीले प्रदर्शन नियन्त्रणका लागि अश्रुग्यास र लाठी प्रयोग गरेको जनाएको छ भने आन्दोलनकारीहरूले अत्यधिक बल प्रयोग भएको आरोप लगाएका छन्। प्रदर्शनका क्रममा आन्दोलनकारीले ढुंगामुढा गरेको आरोप पनि प्रहरीले लगाएको छ।

सीजेपीले मंगलबार पनि जन्तर–मन्तरमा आन्दोलनलाई निरन्तरता दिँदै शिक्षा मन्त्रीलाई पदमुक्त गर्नुपर्ने माग दोहोर्‍याएको छ। गत मे महिनादेखि सुरु भएको अभियानले सामाजिक सञ्जालमार्फत व्यापक जनसमर्थन जुटाएको दाबी गरिएको छ।

सीजेपीका प्रवक्ता आशुतोष राङ्काले आन्दोलन माग पूरा नभएसम्म नरोकिने बताएका छन्। संस्थापक अभिजीत दिपकेले समर्थकलाई संयमित रहन आग्रह गर्दै शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक रहेको उल्लेख गरेका छन्।

यसैबीच, विपक्षी दलहरूले विद्यार्थीमाथिको प्रहरी कारबाहीबारे संसदमा छलफलको माग गरेपछि मंगलबार संसद् बैठक अवरुद्ध भएको छ।

भारतमा पछिल्ला वर्षहरूमा प्रश्नपत्र चुहावट, परीक्षा अनियमितता र मूल्याङ्कनसम्बन्धी विवाद बढ्दै गएपछि विद्यार्थी आन्दोलन चर्किएको हो। मेडिकलसहित विभिन्न प्रतिस्पर्धात्मक परीक्षामा देखिएका अनियमितताले विद्यार्थी र अभिभावकमा असन्तुष्टि बढाएको विपक्षी दलहरूको भनाइ छ।

उता, संसदीय मामिला मन्त्री किरेन रिजिजुले सरकारले परीक्षा अनियमितताविरुद्ध तत्काल कदम चालेको र संलग्नमाथि कारबाही भइरहेको बताएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले भने हालसम्म यस विषयमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।

AP26201449245142.jpg

सम्बन्धित समाचार