काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गर्नुभएको छ। अमेरिकी उत्पादनमाथि क्यानडाले असमान व्यवहार गरेको आरोप लगाउँदै ट्रम्प प्रशासनले नयाँ शुल्क लागू गर्ने निर्णय गरेको हो।
अमेरिकी प्रशासनका अनुसार नयाँ ट्यारिफ ३० दिनपछि लागू हुनेछ। वाइन, हक्की स्टिक, सिमेन्टलगायतका क्यानडाली वस्तुमा ५० प्रतिशत शुल्क लाग्नेछ। तर ऊर्जा, पोटास, महत्वपूर्ण खनिज तथा माछाजस्ता क्यानडाका प्रमुख निर्यात वस्तुलाई भने नयाँ शुल्कबाट छुट दिइएको छ।
राष्ट्रपति ट्रम्पले अमेरिकी सवारीसाधन, दुग्धजन्य पदार्थ र मदिरामाथि क्यानडाले असमान व्यापार नीति अपनाएको दाबी गर्दै अमेरिकी उद्योग र उत्पादकको हित संरक्षणका लागि यो कदम चालिएको बताउनुभएको छ।
यता क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँग जारी व्यापार वार्तालाई आगामी हप्ताहरूमा अझ तीव्र बनाइने बताउनुभएको छ। उहाँले ट्रम्प प्रशासनको पछिल्लो निर्णय अमेरिका–क्यानडा–मेक्सिको (USMCA) व्यापार सम्झौताको भावना विपरीत रहेको टिप्पणी गर्नुभएको छ।
अमेरिका र क्यानडाबीच पछिल्ला महिनाहरूमा व्यापारिक तनाव बढ्दै गएको छ। यसअघि पनि अमेरिकाले क्यानडाबाट आयात हुने स्टिल, एल्युमिनियम, तामा, काठ तथा सवारीसाधनका केही पार्टपुर्जामा १५ देखि ५० प्रतिशतसम्म ट्यारिफ लगाएको थियो।
अमेरिकी निर्णयको प्रत्युत्तरस्वरूप क्यानडाले पनि अमेरिकी स्टिल, एल्युमिनियम र सवारीसाधनमा २५ प्रतिशत प्रतिशोधात्मक भन्सार शुल्क लागू गर्दै आएको छ।
दुवै मुलुकबीच व्यापारिक तनाव बढिरहेका बेला ट्रम्प प्रशासनको पछिल्लो निर्णयले उत्तर अमेरिकी व्यापार सम्बन्धमा थप दबाब सिर्जना गर्ने विश्लेषण गरिएको छ।