सर्लाही । पछिल्लो एक सातादेखि भएको पर्याप्त वर्षापछि सर्लाहीका अधिकांश क्षेत्रमा धान रोपाइँ तीव्र गतिमा सम्पन्न भएको छ। असारको अन्तिम सातादेखि निरन्तर वर्षा भएपछि आकाशे पानीको भरमा खेती गर्ने किसानले समयमै रोपाइँ गर्न पाएका हुन्।
गत वर्ष यही समयमा खडेरीका कारण धेरै किसानले धानको ब्याडसमेत राख्न नसकेको अवस्थामा यस वर्ष भने पर्याप्त वर्षाले खेतीपातीमा उत्साह थपेको छ।
लालबन्दी नगरपालिका–१४ नारायणखोलाका किसान प्रेम लामाका अनुसार लगातार वर्षा भएपछि चुरे क्षेत्रका पाखो खेतमा पनि समयमै धान रोपाइँ सम्पन्न भएको छ।
उहाँले यस वर्ष पनि रोपाइँको समयमा वर्षा नहोला कि भन्ने चिन्ता रहे पनि एक सातासम्म निरन्तर पानी परेपछि किसानले धमाधम रोपाइँ सकेको बताउनुभयो।
सर्लाहीमा महेन्द्र राजमार्गको उत्तर क्षेत्र तथा जिल्लाको पूर्वी भेगका अधिकांश खेत आकाशे वर्षामै निर्भर छन्। हाल खोला, खोल्सा, कुलो र नहरमा पर्याप्त पानी बगेकाले तत्कालका लागि सिँचाइको समस्या हटेको किसानहरूको भनाइ छ।
कृषि ज्ञान केन्द्र सर्लाहीका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत कबिन्द्रसिंह ठगुन्नाका अनुसार असार मसान्तसम्म जिल्लामा करिब ६० प्रतिशत धान रोपाइँ भएको थियो। त्यसपछि भएको लगातार वर्षाले तीन–चार दिनभित्र अधिकांश किसानले रोपाइँ सम्पन्न गरेका छन्।
कृषि ज्ञान केन्द्रका अनुसार सर्लाहीमा ४२ हजार ६९५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। त्यसमध्ये ५२ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ भने बाँकी ४८ प्रतिशत खेती आकाशे वर्षामा निर्भर छ।
ठगुन्नाले रोपाइँको मुख्य समयमा पर्याप्त वर्षा भएकाले यस वर्ष धान खेतीयोग्य जमिन बाँझै रहने अवस्था नरहेको बताउनुभयो। उहाँका अनुसार नियमित वर्षाले सिँचाइ अभावका कारण खेती प्रभावित हुने जोखिम पनि हटेको छ।
यद्यपि, रोपाइँ सम्पन्न गरेका किसानले रासायनिक मलको अभाव भने अझै झेलिरहेका छन्। कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबाट पर्याप्त डीएपी र युरिया मल उपलब्ध हुन नसकेपछि धेरै किसान भारतीय बजारबाट मल खरिद गरेर धान खेती गर्न बाध्य भएको गुनासो गरेका छन्।