साउनमा पनि सुनसान इन्द्रचोकको पोते बजार, व्यापारी भन्छन्– ग्राहक नै आउन छाडे
1.4k
Shares
काठमाडौं । साउन महिना सुरु भएसँगै हरियो–पहेँलो पोते, चुरा र मेहदीको व्यापार बढ्ने अपेक्षा गरिए पनि काठमाडौंको ऐतिहासिक इन्द्रचोक पोते बजार यस वर्ष सुनसान बनेको छ। विगतमा साउनभर ग्राहकको भीड लाग्ने बजारमा अहिले ग्राहकको उपस्थिति न्यून भएपछि व्यापारी निराश बनेका छन्।
इन्द्रचोकमा चार पुस्तादेखि पोतेको व्यापार गर्दै आएका व्यापारी साजिद उद्दिनका अनुसार यस वर्ष हरियो–पहेँलो पोते किन्न आउने ग्राहकको संख्या विगत वर्षको तुलनामा एक प्रतिशत पनि पुगेको छैन।
उहाँका अनुसार हरेक वर्ष साउनमा हरियो–पहेँलो पोते र विवाहको मौसममा रातो पोतेको व्यापारबाट वर्षभरको लगानी उठ्ने गर्थ्यो। तर यस पटक ग्राहक नै नआउँदा दिनभर पसलमै बस्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो।
पोते किन्न इन्द्रचोक पुगेकी सामाखुसीकी सानुकान्छी गुरुङले नयाँ पुस्ताका महिलाले विवाहको दिन वा विशेष पूजा–आजामा मात्रै पोते लगाउने चलन बढेकाले यसको व्यापार खस्किएको बताउनुभयो।
उहाँका अनुसार कार्यालय, विद्यालय तथा कलेजमा नियमित रूपमा पोते लगाउने प्रचलन घटेकाले एक पटक किनेको पोते लामो समयसम्म प्रयोग हुने र नयाँ किन्ने आवश्यकता कम भएको छ।
इन्द्रचोकमै छैटौँ पुस्तादेखि पोते व्यवसाय गर्दै आएका सबिर अहमदले व्यापार अत्यन्तै कमजोर हुँदा ऋण लिएर व्यवसाय धान्नुपर्ने अवस्था आएको बताउनुभयो। मल्लकालदेखि सञ्चालनमा रहेको ऐतिहासिक पोते बजारको अवस्था नै सिजनमा यस्तो भए अन्य स्थानको अवस्था झन् कठिन रहेको उहाँको भनाइ छ।
उहाँले पुर्ख्यौंदेखिको व्यवसाय जोगाउन कठिन बन्दै गएको उल्लेख गर्दै यही अवस्था रहे नयाँ पुस्ता विदेश पलायन हुन बाध्य हुने चिन्ता व्यक्त गर्नुभयो।
श्रीपेचमा पोते भर्ने गौरवपूर्ण इतिहास
इन्द्रचोकका अर्का व्यापारी खालिद उद्दिनले आफ्नो परिवारको पोते व्यवसायसँग जोडिएको ऐतिहासिक प्रसङ्ग सुनाउनुभयो। उहाँका अनुसार राणाकालमा उहाँका बाजेले राजाको श्रीपेचमा पोते र मोती भर्ने काम गरेका थिए।
खालिदले विसं २०३३ मा तत्कालीन नारायणहिटी राजदरबारमा पुगेर श्रीपेचमा झरेका पोते र मोती पुनः जडान गर्ने अवसर पाएको स्मरण गर्दै त्यो आफ्नो जीवनकै अविस्मरणीय क्षण भएको बताउनुभयो।
उहाँका अनुसार काम गरिरहेका बेला तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य स्वयं निरीक्षणका लागि आउनुभएको थियो, जुन अनुभव आफूले कहिल्यै नभुल्ने बताउनुहुन्छ।
यता, समयसँगै फेसन र जीवनशैली परिवर्तन भएकाले पोतेको आकर्षण घट्दै गएको व्यापारीहरूको निष्कर्ष छ। यद्यपि चुरा व्यवसायी शैली शाक्यका अनुसार हरियो–पहेँलो चुराको माग भने अझै राम्रो छ।
उहाँका अनुसार पोते सबैले नियमित रूपमा लगाउन नमिल्ने र कार्यालयको पोसाकसँग पनि मेल नखाने भएकाले यसको प्रयोग घटेको हो। तर चुरा सबै उमेर र पेशाका महिलाले सहज रूपमा लगाउन सक्ने भएकाले यसको व्यापारमा खासै असर परेको छैन।
व्यापारीहरूका अनुसार नेपालमा बिक्री हुने चुरा मुख्यतः भारतबाट आयात हुन्छ भने पोते चेक गणतन्त्र, चीन र जापानबाट आयात हुँदै आएको छ।