काठमाडौं । अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले लगातार नवौं रात पनि इरानका विभिन्न सैन्य संरचनामाथि हवाई हमला गरेको छ। पछिल्लो आक्रमण अमेरिकी सैनिकको मृत्यु भएपछि गरिएको प्रतिकारात्मक कारबाहीका रूपमा हेरिएको छ।
अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार इरानका कमाण्ड सेन्टर, हवाई प्रतिरक्षा प्रणाली, मिसाइल तथा ड्रोन प्रक्षेपणस्थल, समुद्री सैन्य पूर्वाधार र सञ्चार सञ्जाललाई लक्षित गरी आक्रमण गरिएको हो। दक्षिण–पश्चिमका खुर्मोज, बुशहर र होर्मोजगान तथा उत्तर–पश्चिमी तबरीज क्षेत्रमा पनि प्रहार भएको जनाएको छ।
हमलापछि तबरीजस्थित इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को एयरोस्पेस फोर्ससँग सम्बन्धित मिसाइल क्षेत्रमा आगलागी भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। चाबहार र बन्दर इमामजस्ता रणनीतिक बन्दरगाह क्षेत्र पनि अमेरिकी आक्रमणको निशानामा परेका छन्।
यसैबीच अमेरिकी सैनिकको मृत्युले द्वन्द्वलाई थप उग्र बनाएको छ। अमेरिकी अधिकारीहरूका अनुसार जोर्डन र इराकमा भएका इरानी आक्रमणमा कम्तीमा तीन अमेरिकी सैनिक मारिएका छन् भने अन्य सैनिक घाइते भएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आणविक हतियार विकास गर्न सक्ने क्षमतालाई पूर्ण रूपमा समाप्त पार्नु आफ्नो सैन्य अभियानको मुख्य उद्देश्य रहेको बताएका छन्।
विदेशमन्त्री मार्को रुबियोले पनि इरानले होर्मुज जलडमरूमध्यलाई दबाबको माध्यम बनाउन खोजेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय समुदायलाई समुद्री सुरक्षामा सहयोग गर्न आग्रह गरेका छन्।
इरानले भने अमेरिकी आक्रमणको प्रतिकार जारी राख्ने चेतावनी दिएको छ। पछिल्ला दिनहरूमा इरानले अमेरिकी र उसका साझेदार मुलुकका सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण तीव्र बनाएको छ। यसले मध्यपूर्वमा व्यापक युद्धको जोखिम अझ बढाएको विश्लेषण गरिएको छ।