काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल सकिएलगत्तै मैदानभित्र स्पेन र अर्जेन्टिनाका खेलाडीबीच झडप भएको छ। अतिरिक्त समयमा स्पेनसँग १–० ले पराजित भएपछि निराश बनेका अर्जेन्टिनाका केही खेलाडीले मैदानमै आक्रोश पोखेका हुन्।
अन्तिम सिठ्ठी बजेलगत्तै उपाधि जितेको खुसी मनाउँदै दौडिरहेका स्पेनका मिडफिल्डर रोड्रिलाई अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिनाले पछाडिबाट धक्का दिएपछि विवाद सुरु भएको थियो। त्यसपछि दुवै टोलीका खेलाडीबीच भनाभन, धकेलाधकेल र सामान्य हातपातको स्थिति सिर्जना भएको थियो।
झडपका क्रममा अर्जेन्टिनाका मिडफिल्डर लिएन्ड्रो पारेडेस सबैभन्दा आक्रामक देखिएका थिए। उनले स्पेनका खेलाडीलाई धक्का दिनुका साथै मुक्का प्रहार गर्ने प्रयास गरेको बताइएको छ। स्थिति थप तनावपूर्ण बन्नुअघि दुवै टोलीका खेलाडी र खेल अधिकारीले हस्तक्षेप गर्दै झडपलाई नियन्त्रणमा लिएका थिए।
यसअघि निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा फेरान टोरेसले गरेको निर्णायक गोलको मद्दतमा अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले इतिहासमा दोस्रो पटक फिफा विश्वकपको उपाधि जितेको थियो।