काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि स्पेनले जितेसँगै प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई प्रदान गरिने व्यक्तिगत पुरस्कार पनि घोषणा गरिएको छ। उपाधि जितेको स्पेन र सर्वाधिक गोलकर्ता बनेको फ्रान्सका किलियन एम्बाप्पेले यसपटकका प्रमुख व्यक्तिगत अवार्डमा वर्चस्व जमाएका छन्।
फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे आठ खेलमा १० गोल गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने। उनले उत्कृष्ट गोलकर्तालाई प्रदान गरिने गोल्डेन बुट जित्दै लगातार दोस्रो विश्वकपमा यो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी बने।
यसअघि उनले कतारमा भएको सन् २०२२ को विश्वकपमा पनि आठ गोल गर्दै गोल्डेन बुट जितेका थिए। लगातार दुई संस्करणमा सर्वाधिक गोलकर्ता बन्ने उपलब्धिसँगै २७ वर्षीय एम्बाप्पेले विश्व फुटबलमा अर्को ऐतिहासिक कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।
एम्बाप्पे सन् १९७० मा पश्चिम जर्मनीका गर्ड मुलरपछि विश्वकपको एउटै संस्करणमा १० वा सोभन्दा बढी गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन्। विश्वकपको एकै संस्करणमा उनीभन्दा बढी गोल गर्ने खेलाडी केवल दुई जना छन्। सन् १९५८ मा फ्रान्सका जस्ट फन्टेनले १३ गोल गरेका थिए भने सन् १९५४ मा हंगेरीका सान्दोर कोचिसले ११ गोल गरेका थिए।

विश्वकपमा कुल २२ गोल पुर्याएका एम्बाप्पे पुरुष विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता पनि बनेका छन्। उनले अर्जेन्टिनाका लियोनल मेस्सीको २१ गोलको कीर्तिमानलाई पछि पारे।
उता, विश्वविजेता स्पेनका कप्तान तथा मिडफिल्डर रोड्री प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेबापत गोल्डेन बल अर्थात् उत्कृष्ट खेलाडी घोषित भए। स्पेनलाई उपाधिसम्म पुर्याउन मिडफिल्डमा उनले खेलेको नेतृत्वदायी भूमिकाको उच्च मूल्यांकन गरिएको हो।
स्पेनकै युवा डिफेन्डर पाउ कुबार्सी प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी घोषित भए। प्रतियोगिताभर परिपक्व प्रदर्शन गरेका उनले विश्व फुटबलका उदीयमान प्रतिभामध्ये एकका रूपमा आफूलाई स्थापित गरेका छन्।
त्यस्तै, स्पेनका गोलरक्षक उनाइ सिमोन ले उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने गोल्डेन ग्लोभ जितेका छन्। उनले प्रतियोगिताभर केवल एक गोल मात्र व्यहोर्दै स्पेनको उपाधि यात्रामा महत्वपूर्ण भूमिका खेले।
विश्वकप २०२६ को व्यक्तिगत पुरस्कार सूची:
स्पेनले टोलीगत रूपमा विश्वकपको उपाधि जित्दा व्यक्तिगत पुरस्कारतर्फ पनि उसका खेलाडीहरूको प्रभाव देखियो। यद्यपि उपाधि जित्न नसके पनि फ्रान्सका एम्बाप्पेले लगातार दोस्रो पटक गोल्डेन बुट जित्दै विश्व फुटबल इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरमा लेखाउन सफल भए।