काठमाडौं । रुसले युक्रेनको राजधानी कीभमा युद्ध सुरु भएयताकै सबैभन्दा ठूलोमध्ये एक हवाई आक्रमण गरेको छ। करिब पाँच घण्टासम्म चलेको मिसाइल र ड्रोन हमलामा कम्तीमा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा ४१ वटा मिसाइल र १२५ वटा ड्रोन प्रयोग गरिएको थियो। युक्रेनको वायुसेनाले १०८ ड्रोन र १८ मिसाइल खसालेको दाबी गरेको छ। यद्यपि केही मिसाइल र ड्रोनले राजधानीका विभिन्न क्षेत्रमा प्रहार गर्दा आवासीय भवन, कार्यालय, औद्योगिक संरचना, विद्यार्थी आवास तथा सवारीसाधनमा क्षति पुगेको छ।
आक्रमणपछि कीभका विभिन्न जिल्लामा आगलागी भएको थियो। उद्धारकर्मीहरूले जलेका र भत्किएका भवनबाट सर्वसाधारणको उद्धार गरेका छन्। राजधानीको मेट्रो स्टेशनसमेत क्षतिग्रस्त भएको जनाइएको छ।
रुसको रक्षा मन्त्रालयले भने आक्रमण युक्रेनका सैन्य तथा हतियार उत्पादनसँग सम्बन्धित लक्ष्यहरूमा केन्द्रित रहेको दाबी गरेको छ। युक्रेनले भने रुसले नागरिक पूर्वाधारलाई निशाना बनाएको आरोप लगाएको छ।
हालका साताहरूमा रुस–युक्रेन युद्धमा हवाई आक्रमण तीव्र बन्दै गएको छ। युक्रेनले थप हवाई प्रतिरक्षा प्रणालीको आवश्यकता रहेको भन्दै पश्चिमी सहयोगी राष्ट्रहरूलाई सैन्य सहयोग बढाउन पुनः आग्रह गरेको छ।