फेसबुकको ब्राउजर संस्करणमा समस्या, विश्वभरका प्रयोगकर्ता प्रभावित

1.5k Shares

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको ब्राउजर (वेब) संस्करणमा आइतबार अचानक समस्या देखिएको छ। समस्या आएपछि विश्वका विभिन्न देशका प्रयोगकर्ताले फेसबुक वेबसाइट खोल्न, लगइन गर्न, न्यूज फिड हेर्न तथा पोस्ट गर्न कठिनाइ भएको बताएका छन्।

प्रयोगकर्ताहरूले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) लगायतका प्लेटफर्ममा फेसबुकको वेब संस्करण डाउन भएको भन्दै गुनासो गरेका छन्। कतिपयले वेबसाइट लोड नहुने, केहीले 'एरर' सन्देश देखिने तथा पृष्ठ रिफ्रेस गर्दा पनि समस्या समाधान नभएको उल्लेख गरेका छन्।

यद्यपि फेसबुकको मोबाइल एप अधिकांश प्रयोगकर्ताका लागि सामान्य रूपमा सञ्चालन भइरहेको जनाइएको छ। समस्या मुख्य रूपमा वेब ब्राउजरमार्फत फेसबुक प्रयोग गर्नेहरूमा देखिएको बताइएको छ।

फेसबुकको मातृ कम्पनी मेटाले समाचार तयार पार्दासम्म समस्याको कारणबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। प्राविधिक टोलीले समस्या समाधानका लागि काम गरिरहेको अनुमान गरिएको छ।

यसअघि पनि मेटाका फेसबुक, इन्स्टाग्राम तथा मेसेन्जर सेवामा समय–समयमा प्राविधिक अवरोध देखिँदै आएका छन्। यसपटकको समस्या कति समयसम्म रहने भन्नेबारे कम्पनीले कुनै जानकारी दिएको छैन।

सम्बन्धित समाचार