विश्वकप फाइनलमा ट्रम्पको विशेष उपस्थिति, इन्फान्टिनोसँग मिलेर ट्रफी प्रदान गर्ने

1.5k Shares

न्यु जर्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार हुने फिफा विश्वकप २०२६ को फाइनल खेलमा विशेष अतिथिका रूपमा सहभागी हुने भएका छन् । स्पेन र अर्जेन्टिनाबीच हुने उपाधि भिडन्तपछि उनले जियानी इन्फान्टिनो सँग मिलेर विजेता टोलीलाई विश्वकप ट्रफी प्रदान गर्ने कार्यक्रम रहेको छ ।

न्यु जर्सीमा हुने यो खेल ट्रम्पले प्रत्यक्ष रूपमा अवलोकन गर्ने पहिलो विश्वकप खेल हुनेछ। फाइनल खेलमा उनीसँगै प्रथम महिला मेलानिया ट्रम्प, छोरा ब्यारन ट्रम्प तथा मेलानियाका पिता भिक्टर नाभ्स पनि उपस्थित रहने जनाइएको छ ।

यद्यपि प्रतियोगिताका क्रममा ट्रम्पको भूमिकाले विवाद पनि निम्त्याएको थियो । अन्तिम–१६ चरणअघि अमेरिकी खेलाडी फोलारिन बालोगुनलाई दिइएको रातो कार्ड फिर्ता लिन वा निलम्बन गर्न आग्रह गर्दै ट्रम्पले फिफा अध्यक्ष इन्फान्टिनोलाई फोन गरेको समाचार सार्वजनिक भएपछि प्रतियोगिताको निष्पक्षतामाथि प्रश्न उठेको थियो ।

विवादका बाबजुद ट्रम्पले विश्वकप २०२६ लाई अहिलेसम्मकै सबैभन्दा सफल विश्वकपमध्ये एक भएको दाबी गरेका छन्। उनका अनुसार प्रतियोगिताले अमेरिकामा फुटबलको लोकप्रियता उल्लेखनीय रूपमा बढाएको छ ।

विश्वकपको फाइनल खेल खेलकुदसँगै कूटनीतिक भेटघाटको थलो पनि बन्ने भएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज तथा स्पेनी राजपरिवारका सदस्यहरू पनि खेल हेर्न उपस्थित हुनेछन्। त्यस्तै, प्रतियोगिताका सहआयोजक राष्ट्र मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबाम र क्यानडाका प्रधानमन्त्री मार्क कार्नी को पनि उपस्थिति रहने कार्यक्रम छ ।

हालै ट्रम्पले स्पेनले नेटोअन्तर्गत रक्षा खर्चसम्बन्धी दायित्व पूरा नगरेको भन्दै आलोचना गरेका थिए। साथै अमेरिका, क्यानडा र मेक्सिकोबीच व्यापार, आप्रवासन र सुरक्षा जस्ता विषयमा देखिएको मतभेदका बीच यी देशका शीर्ष नेताहरूको एउटै मञ्चमा उपस्थिति पनि चासोका साथ हेरिएको छ ।

ट्रम्पको उपस्थितिलाई ध्यानमा राख्दै न्यु जर्सीस्थित रंगशाला वरपर सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। उनी आउने समयमा रंगशाला आसपासको हवाई क्षेत्रलाई अस्थायी रूपमा ‘नो–फ्लाई जोन’ घोषणा गरिने जनाइएको छ ।

ट्रम्प र इन्फान्टिनोबीच पछिल्लो समय निकट सम्बन्ध रहेको बताइन्छ । ट्रम्पले अमेरिका विश्वकप २०२६ र सन् २०२८ को लस एन्जलस ओलम्पिकको आयोजक बन्नुलाई आफ्नो प्रशासनको उपलब्धिका रूपमा उल्लेख गर्दै आएका छन् ।

यसअघि न्यु जर्सीमै आयोजित फिफा क्लब विश्वकपको उपाधि वितरण समारोहमा पनि ट्रम्प ट्रफी हस्तान्तरणपछि विजेता टोलीसँगै मञ्चमा बसेका थिए। पछि उनले ट्रफी ह्वाइट हाउसमा राखिएको दाबी गरे पनि फिफाले त्यहाँ राखिएको ट्रफी सक्कली नभई प्रतिकृति (रेप्लिका) भएको स्पष्ट पारेको थियो ।

सम्बन्धित समाचार