बार्सिलोना । सन् २०१० मा स्पेनले पहिलो पटक फिफा विश्वकप जित्दा स्पेनी समर्थकसँगै खुसी साटेका स्पेनमा बसोबास गर्ने नेपालीहरू १६ वर्षपछि फेरि त्यही ऐतिहासिक क्षण दोहोरिने आशामा छन् ।
आज हुने विश्वकप फाइनलमा स्पेनले अर्जेन्टिनाको सामना गर्ने तयारीसँगै स्पेनका विभिन्न सहरमा बस्ने नेपाली समुदाय पनि उत्साहले भरिएको छ।
सन् २०१० को फाइनलमा अतिरिक्त समयमा आन्द्रेस इनिएस्ताले गरेको निर्णायक गोलसँगै स्पेन विश्व च्याम्पियन बनेको क्षण अहिले पनि धेरै नेपालीका लागि अविस्मरणीय सम्झना बनेको छ । त्यतिबेला बार, रेस्टुरेन्ट र सार्वजनिक स्थानमा स्पेनी समर्थकसँगै विजय उत्सव मनाएका नेपालीहरू यसपटक पनि त्यही खुसी फर्किने विश्वास व्यक्त गरिरहेका छन्।
स्पेनको कोस्टा ब्लाङ्कामा व्यवसाय सञ्चालन गरिरहेका समाजसेवी तथा सगरमाथा आरोही अक्कल बोहोराले स्पेनले दिएको अवसर र अपनत्वका कारण आफ्नो समर्थन पूर्ण रूपमा स्पेनलाई रहेको बताए ।
त्यस्तै बिल्बाओ, बार्सिलोना, म्याड्रिड, बेल्जियम र जर्मनीमा रहेका नेपालीहरूले पनि आफू जहाँ भए पनि स्पेनकै जितको कामना गर्दै फाइनल हेर्ने तयारी गरेका छन्।

विश्वकप फाइनललाई लक्षित गर्दै बार्सिलोना, म्याड्रिड, भ्यालेन्सिया, सेभिया, मालागालगायत प्रमुख सहरमा विशाल सार्वजनिक स्क्रिन जडान गरिएको छ।
रेस्टुरेन्ट तथा बारहरूमा केही दिनअघिदेखि नै टेबल बुकिङ बढेको व्यवसायीहरूले बताएका छन् भने फाइनलको रात सामान्य दिनभन्दा निकै व्यस्त हुने अपेक्षा गरिएको छ।
यसपटकको फाइनललाई दुई पुस्ताबीचको रोचक प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ। एकातिर अनुभवी लियोनल मेस्सी लगातार दोस्रो विश्वकप जित्ने लक्ष्यमा छन् भने अर्कोतर्फ युवा स्टार लामिन यामाल स्पेनलाई दोस्रो विश्व उपाधि दिलाउने अभियानको नेतृत्व गरिरहेका छन्। यही कारण स्पेन–अर्जेन्टिना भिडन्तले विश्वभरका फुटबल समर्थकको विशेष ध्यान तानेको छ।