कुवेत । इरानको आक्रमणबाट कुवेतको एक विद्युत् उत्पादन तथा समुद्री पानी प्रशोधन (डिसालिनेसन) केन्द्रमा क्षति पुगेपछि खाडी क्षेत्रमा खानेपानी आपूर्तिको सुरक्षालाई लिएर चिन्ता बढेको छ।
कुवेती अधिकारीहरूका अनुसार शुक्रबार भएको आक्रमणमा विद्युत् उत्पादन केन्द्रका केही एकाइमा क्षति पुगेको थियो भने परिसरमा आगलागीसमेत भएको थियो। आगो नियन्त्रणमा लिइसकिएको र विद्युत् तथा खानेपानीजस्ता अत्यावश्यक सेवाको निरन्तरताका लागि आपतकालीन व्यवस्था लागू गरिएको जनाइएको छ।
कुवेतको खानेपानी आपूर्ति प्रणाली मुख्यतः समुद्री पानी प्रशोधन केन्द्रमा निर्भर छ। देशमा प्रयोग हुने करिब ९० प्रतिशत खानेपानी डिसालिनेसनमार्फत उत्पादन हुने गरेको छ। यस्तै, ओमानमा करिब ८६ प्रतिशत र साउदी अरेबियामा करिब ७० प्रतिशत खानेपानी यही प्रविधिबाट उपलब्ध हुने गर्छ।
फारसी खाडीको तटीय क्षेत्रमा रहेका अधिकांश डिसालिनेसन केन्द्र सम्भावित द्वन्द्व प्रभावित क्षेत्रमा पर्ने भएकाले विज्ञहरूले यस्ता पूर्वाधारमाथि हुने आक्रमणले लाखौँ मानिसको खानेपानी आपूर्तिमा प्रत्यक्ष असर पर्न सक्ने चेतावनी दिएका छन्। क्षेप्यास्त्र, ड्रोन वा अन्य हवाई आक्रमणबाट यस्ता संरचनामा क्षति पुग्न सक्ने जोखिम बढेको उनीहरूको भनाइ छ।
इरानसँगको बढ्दो तनावका कारण यसअघि ऊर्जा बजार र होर्मुज जलडमरूमध्य हुँदै हुने समुद्री यातायातमा पर्ने असरबारे बढी चर्चा हुने गरेको थियो। तर पछिल्ला घटनाले पानी आपूर्ति प्रणालीसमेत क्षेत्रीय सुरक्षाको संवेदनशील पक्ष बनेको देखाएको छ।
यसअघि पनि खाडी क्षेत्रका केही डिसालिनेसन केन्द्र द्वन्द्वको प्रभावमा परेका थिए। कुवेतले दोहा वेस्ट डिसालिनेसन केन्द्रमा भएको क्षति अवरोध गरिएको ड्रोनका भग्नावशेष वा नजिकैको बन्दरगाह क्षेत्रमा भएको आक्रमणका कारण हुन सक्ने जनाएको थियो।
त्यसैगरी, इरानले गत मार्चमा अमेरिकाले केश्म टापुस्थित डिसालिनेसन केन्द्रहरूलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएको थियो। तेहरानका अनुसार उक्त घटनाबाट करिब ३० गाउँको खानेपानी आपूर्ति प्रभावित भएको थियो। अमेरिकाले भने त्यस्तो आक्रमण गरेको आरोप अस्वीकार गर्दै आएको छ।
यसअघि क्षेत्रीय तनावका क्रममा यमनका हुथी विद्रोहीहरूले पनि साउदी अरेबियाका महत्वपूर्ण जल तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आक्रमण गरेका थिए। पछिल्ला घटनाले खाडी क्षेत्रमा पानी पूर्वाधारको सुरक्षालाई नयाँ चुनौतीका रूपमा उभ्याएको विश्लेषण गरिएको छ।