जनकपुरधाम । मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुर पक्षले सरकारसँगको संवादलाई प्रभावकारी र व्यवस्थित बनाउन औपचारिक वार्ता टोली गठन गरेको छ। आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको संयोजकत्वमा गठन गरिएको टोलीमा केन्द्रीय महासचिव मनोजकुमार पासमान, प्रवक्ता रिजन राना मगर, लक्ष्मी घिमिरे, किरण परियार तथा संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नवीन सदस्य रहेका छन्।
मिटरब्याज पीडितहरू असार २५ गतेदेखि जनकपुरधामबाट काठमाडौं केन्द्रित पैदल न्याय मार्चमा रहेका छन्। यसक्रममा बाराको निजगढमा सरकार र आन्दोलनरत पक्षबीच गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा चार चरणको वार्ता भइसके पनि आन्दोलनका ६ बुँदे मागमा लिखित सहमति हुन नसक्दा वार्ता निष्कर्षमा पुग्न सकेको छैन।
आन्दोलनरत पक्षले सरकारले स्वीकार गरेको ६ बुँदे सहमतिको मस्यौदामा हुबहु हस्ताक्षर गरी कार्यान्वयनको सुनिश्चितता गर्नुपर्ने अडान दोहोर्याएको छ। लिखित सहमति नभएसम्म पैदल न्याय मार्च नरोकिने र अब सरकारसँगको आगामी सबै संवाद यही औपचारिक वार्ता टोलीमार्फत अघि बढाइने उनीहरूले बताएका छन्।