बैंककमा नेपालको प्रतिनिधित्व गर्दै ‘एनडिए जुनियर क्रु’ अन्तर्राष्ट्रिय नृत्य प्रतियोगितामा
1.5k
Shares
काठमाडौं । नेपालको अग्रणी नृत्य संस्था नेपा डान्स एकेडेमी (एनडिए) को बाल टोली ‘एनडिए जुनियर क्रु’ले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय ‘जिएलएक्स डान्स च्याम्पियनसिप’ मा नेपालको प्रतिनिधित्व गर्ने भएको छ।
विश्वका विभिन्न देशका उत्कृष्ट बाल नृत्य प्रतिभाहरू सहभागी हुने यस प्रतिष्ठित प्रतियोगितामा एनडिए जुनियर क्रुले नेपाली कला, संस्कृति र सिर्जनात्मक प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने लक्ष्य लिएको एकेडेमीले जनाएको छ। प्रतियोगितामा नेपालसहित विभिन्न राष्ट्रका बाल कलाकारबीच प्रतिस्पर्धा हुनेछ।
नेपा डान्स एकेडेमीका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताले बाल कलाकारहरूको आत्मविश्वास, सिर्जनशीलता तथा विश्वस्तरीय अनुभव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
हाल एनडिए जुनियर क्रुका सदस्यहरू प्रतियोगिताको तयारीस्वरूप नियमित र कडा अभ्यासमा जुटिरहेका छन्। अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको पहिचान र गौरव उँचो बनाउने प्रतिबद्धता उनीहरूले व्यक्त गरेका छन्।
एकेडेमीले अभिभावक, शुभेच्छुक तथा स्वदेश तथा विदेशमा रहेका नेपाली समुदायसँग बाल टोलीलाई हौसला, शुभकामना र साथ दिन आग्रह गरेको छ।