लगातार १८ औँ विश्वकप कभर गर्दै ९१ वर्षीय अर्जेन्टिनी पत्रकार

1.6k Shares

काठमाडौं । अर्जेन्टिनाका वरिष्ठ खेल पत्रकार एनरिके माकाया मार्केज ९१ वर्षको उमेरमा पनि सक्रिय पत्रकारितामै छन्। उनले सन् १९५८ मा स्विडेनमा आयोजित विश्वकपदेखि हालसम्म लगातार १८ संस्करणको फिफा विश्वकप प्रत्यक्ष रूपमा कभर गर्दै दुर्लभ कीर्तिमान कायम गरेका छन्।

करिब सात दशक लामो पत्रकारिता यात्रामा उनले विश्व फुटबलका महान् हस्ती पेले, डिएगो म्याराडोना र लियोनेल मेसीसहित विभिन्न पुस्ताका खेलाडीहरूको उत्कर्ष नजिकबाट देखेका छन्। विश्व फुटबलको इतिहासका धेरै अविस्मरणीय क्षणका उनी प्रत्यक्ष साक्षी बनेका छन्।

सन् १९५८ को विश्वकपमा २४ वर्षीय युवा पत्रकारका रूपमा सहभागी भएका माकायाले पहिलो जिम्मेवारीमध्ये ब्राजिल र अस्ट्रियाबीचको खेल कभर गरेका थिए। त्यही विश्वकपमा उनले १७ वर्षीय पेलेको उदय पनि प्रत्यक्ष देखेका थिए। यद्यपि, अर्जेन्टिना चेकोस्लोभाकियासँग ६–१ ले पराजित भएको खेल भने उनको स्मृतिमा अझै ताजै रहेको उनी बताउँछन्।

अर्जेन्टिनाका वर्तमान प्रशिक्षक लियोनेल स्कालोनीबारे सुरुआतमा आफू आशावादी नरहेको स्वीकार गर्दै उनले समयसँगै स्कालोनीले आफ्नो क्षमता प्रमाणित गरेको बताए। स्कालोनीको नेतृत्वमा अर्जेन्टिनाले कोपा अमेरिका, फाइनलिसिमा र विश्वकपको उपाधि जितेपछि कुनै व्यक्तिलाई पूर्ण रूपमा नबुझी मूल्याङ्कन गर्नु उचित नहुने आफ्नो विश्वास थप बलियो बनेको उनको भनाइ छ।

मेस्सी र म्याराडोनामध्ये कसलाई महान् भन्ने प्रश्नमा माकायाले दुवै फरक समय र फरक परिवेशका खेलाडी भएकाले प्रत्यक्ष तुलना गर्न नमिल्ने बताए। यद्यपि, व्यक्तिगत रूपमा भने आफूलाई लियोनेल मेसी मनपर्ने उनले उल्लेख गरेका छन्।

अर्जेन्टिना पुनः विश्वकपको उपाधि जित्न सक्षम रहेको विश्वास व्यक्त गरेका माकायाले अब भने पत्रकारिताबाट अवकाश लिनेबारे सोच्न थालेको बताए। तर, हाँस्दै उनले भने, “अहिले नै अवकाश लिन्छु भन्ने गर्छु, अनि फेरि अर्को विश्वकपसम्म पुगिहाल्छु।”

सम्बन्धित समाचार