काठमाडौं । लगातार दुई दिनदेखि परेको वर्षाले सप्तरीका नदी तथा खोलामा पानीको बहाव बढेपछि जिल्लाका विभिन्न क्षेत्रमा बाढी, डुबान र कटानको जोखिम बढेको छ। वर्षाका कारण पुल, तटबन्ध र खेतीयोग्य जमिनमा क्षति पुगेको छ भने स्थानीय त्रसित बनेका छन्।
कञ्चनरूप नगरपालिका–११ गिदहास्थित देवीखोला र बाभना खोलाको संगममा रहेको पुलमा क्षति पुगेपछि स्थानीयको आवागमन प्रभावित भएको छ। स्थानीयका अनुसार पुलको केही भागमा क्षति देखिएसँगै आवतजावत जोखिमपूर्ण बनेको छ।
उता, राजविराज नगरपालिका–११ झलहीस्थित कोशी पम्प नहरको तटबन्ध फुट्दा रोपिएको धानबालीमा ठूलो क्षति पुगेको छ। तटबन्ध भत्किएपछि पानीसँगै आएको बालुवाले दुई बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको धान पुरिएको छ भने अन्य खेतीयोग्य जमिनमा समेत बालुवा थुप्रिएको छ।

स्थानीय किसानले तटबन्धको समयमै मर्मतसम्भार नगरिएकै कारण यस्तो अवस्था आएको गुनासो गरेका छन्। उनीहरूले तत्काल तटबन्ध मर्मत गरी पानीको बहाव नियन्त्रण गर्न र उत्तरी क्षेत्रको सिँचाइ सेवा पुनः सञ्चालन गर्न माग गरेका छन्।
यसैबीच, हनुमाननगर कंकालिनी नगरपालिका–११ सखुवास्थित सामुदायिक भवन नजिकको बाँधमा पनि कटान सुरु भएको छ। स्थानीयका अनुसार इनरुवा र हनुमाननगरबाट आएको पानीको चाप ह्युमपाइपले थेग्न नसक्दा बाँध कटान हुन थालेको हो। कटान बढ्दै जाँदा आसपासका बस्ती डुबानमा पर्ने जोखिमसमेत बढेको छ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले खाँडो, महुली, कोशी र त्रियुगालगायत नदीमा पानीको बहाव बढेको र केही गाउँबस्तीमा पानी पसेको जानकारी दिए। उहाँका अनुसार बाढी, डुबान र कटानको अवस्थाको निरन्तर अनुगमन भइरहेको छ।
प्रशासनले स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्भावित जोखिमयुक्त क्षेत्रमा उद्धार, राहत र सुरक्षित बसोबासको तयारी गरिएको जनाएको छ। साथै नदी किनार र तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।