सत्ता स्वेच्छाले हस्तान्तरण गर्ने दुर्लभ शासक शेख हमद अब रहेनन्
1.4k
Shares
काठमाडौं । कतारलाई समृद्ध, आधुनिक र विश्व प्रभावशाली राष्ट्रका रूपमा स्थापित गर्न निर्णायक भूमिका निर्वाह गरेका पूर्वअमिर (फादर अमिर) शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएपछि आइतबार दोहामा इस्लामिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ।
दोहास्थित इमाम मोहम्मद इब्न अब्द अल–वहाब मस्जिदमा साँझको नमाजपछि आयोजित श्रद्धाञ्जली तथा अन्तिम बिदाइ कार्यक्रममा शाही परिवारका सदस्य, उच्च सरकारी अधिकारी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। वर्तमान अमिर तथा उनका पुत्र शेख तमिम बिन हमद अल थानीले आफ्ना पितालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।
श्रद्धाञ्जलीपछि शेख हमदको पार्थिव शरीर दोहाको उत्तरमा रहेको लुसाइल कब्रिस्तानमा इस्लामिक विधिअनुसार दफन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिरा ले जनाएको छ।
सन् १९९५ देखि २०१३ सम्म कतारको नेतृत्व सम्हालेका शेख हमदको कार्यकाललाई देशको आधुनिक विकासको स्वर्णिम अध्यायका रूपमा हेरिन्छ। उनको नेतृत्वमा कतारले तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) उत्पादन र निर्यातमा तीव्र विस्तार गर्दै विश्वकै अग्रणी एलएनजी निर्यातकर्ता राष्ट्रको रूपमा आफ्नो पहिचान स्थापित गरेको थियो। यससँगै देशको अर्थतन्त्र, पूर्वाधार, शिक्षा, स्वास्थ्य र अन्तर्राष्ट्रिय कूटनीतिक प्रभावसमेत उल्लेखनीय रूपमा विस्तार भएको थियो।
सन् २०१३ मा उनले स्वेच्छाले सत्ता आफ्ना छोरा शेख तमिम बिन हमद अल थानीलाई हस्तान्तरण गरेका थिए। खाडी क्षेत्रका वंशानुगत शासकमध्ये सत्ता शान्तिपूर्ण रूपमा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने यस्तो निर्णयलाई दुर्लभ र ऐतिहासिक कदमका रूपमा लिइन्छ।
शेख हमदको निधनसँगै कतारले आफ्नो आधुनिक रूपान्तरणका प्रमुख योजनाकार र राष्ट्र निर्माणका एक महत्त्वपूर्ण नेतृत्वकर्तालाई गुमाएको छ।