बैंककको बारमा भीषण आगलागी, २७ जनाको मृत्यु

1.4k Shares

काठमाडौं । थाइल्यान्डको राजधानी बैंककस्थित एक लोकप्रिय बारमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

स्थानीय समयअनुसार मध्यरातपछि सुरु भएको आगोले केही मिनेटमै बारलाई पूर्ण रूपमा घेरेको थियो। उद्धारकर्मीका अनुसार अधिकांश शव भवनको पछाडिपट्टि रहेको शौचालय क्षेत्रमा फेला परेका छन्। धुवाँ र आगोबाट बच्न त्यहाँ आश्रय लिन पुगेका उनीहरू बाहिर निस्कन नसकेपछि ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलले घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन्। प्रारम्भिक अनुमानअनुसार विद्युत् स्विचमा आगो लागेपछि विस्फोट भएको र त्यसपछि आगो तीव्र रूपमा फैलिएको हो।

आगलागी बैंककको चातुचक जिल्लामा रहेको ‘रोङ बियर ना लाट फ्राओ’ नामक लोकप्रिय बार तथा मनोरञ्जनस्थलमा भएको हो। भवनभित्र प्रयोग गरिएका ज्वलनशील सजावटी सामग्रीका कारण आगो निकै तीव्र गतिमा फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसी ले जनाएको छ।

दमकल टोलीले करिब आधा घण्टापछि आगो नियन्त्रणमा लिए पनि त्यसअघि नै ठूलो मानवीय क्षति भइसकेको थियो। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्।

सम्बन्धित समाचार