खामेनीको बदलाको सन्दर्भमा १३ विदेशी नेताको नाम सार्वजनिक
1.8k
Shares
तेहरान । इरानको रूढीवादी पत्रिका ‘हमशहरी’ ले दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्याको बदलाका लागि लक्षित गरिने भन्दै अमेरिकी, इजरायली तथा युरोपेली नेताहरूको नाम समेटिएको सूची सार्वजनिक गरेको छ। यद्यपि उक्त सूचीलाई इरानी सरकार वा अन्य कुनै आधिकारिक निकायले अनुमोदन गरेको पुष्टि भएको छैन ।
गत फेब्रुअरी २८ मा अमेरिकी–इजरायली आक्रमणमा सर्वोच्च नेता खामेनीको मृत्यु भएपछि उहाँका छोरा तथा उत्तराधिकारी मोजताबा खामेनीले बदलाको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। यसै साता सम्पन्न अन्त्येष्टिपछि जारी आफ्नो पहिलो सार्वजनिक सन्देशमा उहाँले “बदला लिनु हाम्रो राष्ट्रको चाहना हो र यो अवश्य कार्यान्वयन हुनेछ” भन्दै चेतावनीपूर्ण अभिव्यक्ति दिनुभएको थियो ।
मोजताबाले सूचीमा रहेका व्यक्तिहरूले आफ्नो ओछ्यानमै शान्तिपूर्ण मृत्युको अपेक्षा गर्न नसक्ने चेतावनी पनि दिनुभएको बताइएको छ । त्यसलगत्तै तेहरान महानगरपालिकाको स्वामित्वमा प्रकाशित ‘हमशहरी’ पत्रिकाले शनिबार राति आफ्नो अनलाइन संस्करणमा उहाँको भनाइसँगै १३ विदेशी नेताको तस्बिर समेटिएको इन्फोग्राफिक सार्वजनिक गरेको हो ।
यद्यपि सर्वोच्च नेताको सन्देशमा लक्षित व्यक्तिहरूको सूची तयार गरिएको उल्लेख भए पनि कुनै नाम सार्वजनिक गरिएको थिएन। सार्वजनिक गरिएको इन्फोग्राफिकलाई इरानी सरकार वा सुरक्षा निकायको आधिकारिक सूचीका रूपमा पुष्टि गर्ने कुनै संकेतसमेत नरहेको जनाइएको छ । साथै उक्त सूची पत्रिकाको आइतबार प्रकाशित मुद्रित संस्करणमा पनि समावेश गरिएको छैन ।
पत्रिकाले सार्वजनिक गरेको इन्फोग्राफिकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, बेलायती प्रधानमन्त्री केयर स्टार्मर, अमेरिकी विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी तथा जर्मनीका चान्सलर फ्रेडरिक मर्जलगायत १३ जना विदेशी नेताको नाम र तस्बिर राखिएको छ ।
युद्धका क्रममा इरानले युरोपेली मुलुकहरूले आफ्नो भूमिमाथि भएका आक्रमणको निन्दा नगरेको तथा अमेरिकी सैन्य विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न दिएर आक्रमणमा सहयोग गरेको आरोप लगाउँदै आएको छ ।
समाचारअनुसार युद्ध सुरु भएयता मोजताबा खामेनी सार्वजनिक रूपमा देखिनुभएको छैन । उहाँका पिता मारिएको आक्रमणमा उहाँ पनि घाइते भएको बताइएको छ । (रासस/एएफपी)