भंगहामा आधुनिक कृषि उपकरणसहित कस्टम हायरिङ सेन्टर स्थापना

1.5k Shares

महोत्तरी । कृषि उत्पादनको लागत घटाउँदै उत्पादन वृद्धि गर्ने उद्देश्यले महोत्तरीको भंगहा नगरपालिकामा कस्टम हायरिङ सेन्टर स्थापना गरी सञ्चालनमा ल्याइएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्थापना गरिएको सेन्टरबाट आधुनिक कृषि उपकरण सहुलियत दरमा उपलब्ध गराइने भएको छ।

नेपाल सरकारको राष्ट्रिय गौरवको योजना राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन इकाई धनुषाको ५० प्रतिशत अनुदान र कृषक समूहको ५० प्रतिशत लागत सहभागितामा कुल ५८ लाख २३ हजार रुपैयाँ लागतमा सेन्टर स्थापना गरिएको हो। सेन्टर सञ्चालनको जिम्मेवारी भंगहा नगरपालिका–४ रामनगरस्थित पञ्चधुरा महिला कृषक समूह लाई दिइएको छ।

समूहमा आबद्ध २५ जना महिला कृषकले करिब ५० बिघा खेतीयोग्य जमिनमा आधुनिक कृषि उपकरण प्रयोग गरी खेती गर्नेछन्। साथै नगरपालिकाभित्रका अन्य कृषकलाई पनि सहुलियत दरमा कृषि उपकरण उपलब्ध गराइने समूहकी अध्यक्ष पुनिता कुमारी महतोले जानकारी दिनुभयो।

वडाध्यक्ष गणेशकुमार महतोले सेन्टरमार्फत सयौँ बिघा जमिनमा यान्त्रिक खेती विस्तार गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो।

परियोजनाका कृषि अधिकृत राकेश कुमार यादवका अनुसार कृषि क्षेत्रमा श्रमिक अभाव र युवाको वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण खेतीपाती प्रभावित भइरहेको छ। यस्तो अवस्थामा कस्टम हायरिङ सेन्टरमार्फत उपलब्ध हुने आधुनिक उपकरणले किसानको समय, श्रम र उत्पादन लागत उल्लेखनीय रूपमा घटाउने अपेक्षा गरिएको छ।

परियोजनाका प्रमुख रामसोगारथ साहका अनुसार सेन्टरमा दुईवटा ट्याक्टर, दुईवटा थ्रेसर, दुईवटा रोटाभेटर, दुईवटा रिपर, ट्याक्टरबाट सञ्चालन हुने दुईवटा चाफ कटर, एउटा लेभलर, दुईवटा कल्टिभेटर तथा एउटा टिलर उपलब्ध छन्। यी उपकरणले खेत जोत्नेदेखि बाली भित्र्याउनेसम्मका अधिकांश कृषि कार्य यान्त्रिक रूपमा गर्न सहयोग पुर्‍याउनेछन्।

मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. सजयकुमार यादवले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन लागत न्यूनीकरण तथा उत्पादनशीलता वृद्धि गर्न कस्टम हायरिङ सेन्टर प्रभावकारी हुने विश्वास व्यक्त गर्दै यस्ता सेवा केन्द्र प्रदेशका अन्य स्थानीय तहमा पनि विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

सम्बन्धित समाचार