पश्चिम एसियामा तनाव उत्कर्षमा, इरानद्वारा अमेरिकी सैन्य अड्डा लक्षित हमला
2.1k
Shares
काठमाडौं । अमेरिकाले आफ्ना सैन्य संरचनामाथि आक्रमण गरेको दाबी गर्दै इरानले पश्चिम एसियाका ६ देशमा रहेका अमेरिकी सैन्य अड्डा तथा रणनीतिक संरचनालाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमण गरेको जनाएको छ। यससँगै क्षेत्रीय तनाव थप चर्किएको छ।
इरानले आइतबार जोर्डन, कुवेत, कतार, बहराइन, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा रहेका अमेरिकी सैन्य अड्डा तथा रणनीतिक स्थलहरूलाई निशाना बनाएको दाबी गरेको छ।
यसअघि अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानका करिब १४० सैन्य अड्डामाथि हवाई आक्रमण गरेको जनाएको थियो। अमेरिकाका अनुसार होर्मुज जलडमरूमध्यमा साइप्रसको झण्डा बोकेको एक कन्टेनर जहाजमाथि इरानले आक्रमण गरेपछि जवाफी कारबाहीस्वरूप ती सैन्य लक्ष्यहरूमा बमबारी गरिएको हो।
अमेरिकी दाबीअनुसार इरानी आक्रमणबाट उक्त जहाजमा आगलागी भएको, इन्जिनमा क्षति पुगेको तथा चालक दलका केही सदस्य सम्पर्कविहीन भएका छन्।
इरानले भने जोर्डनस्थित प्रिन्स हसन एयरबेस, कुवेतमा रहेको अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली तथा राडार केन्द्र, बहराइनस्थित अमेरिकी सैन्य सञ्चार केन्द्र, साथै कतार र यूएईमा रहेका अमेरिकी सैन्य संरचनामाथि मिसाइल र ड्रोन आक्रमण गरेको जनाएको छ।
यससँगै इरानले अर्को आदेश जारी नभएसम्म होर्मुज जलडमरूमध्य बन्द रहने घोषणा गरेको छ। इरानले उक्त निर्णयको अवज्ञा गर्ने जहाज वा पक्षविरुद्ध कारबाही गरिने चेतावनीसमेत दिएको छ।
इरानका सर्वोच्च नेताका सल्लाहकार मोहसिन रेजाईले होर्मुज जलडमरूमध्यलाई इरानको रणनीतिक प्रतिरोधको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै राष्ट्रिय सुरक्षा र हितको रक्षा गर्न उपलब्ध सबै क्षमता प्रयोग गरिने बताउनुभएको छ।
यद्यपि, दुवै पक्षले गरेका आक्रमणसम्बन्धी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेका छन्। द्वन्द्व थप चर्किँदै जाँदा पश्चिम एसियाको सुरक्षा अवस्था र विश्व ऊर्जा आपूर्तिमा यसको असर पर्ने चिन्ता बढ्दै गएको छ।