होर्मुजमा जहाजमाथि आक्रमणपछि अमेरिकाको फेरि हवाई प्रहार, तनाव थप चर्कियो

1.8k Shares

अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार स्ट्रेट अफ होर्मुज हुँदै गइरहेको साइप्रसको झण्डा बोकेको एक व्यापारिक जहाजमाथि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले आक्रमण गरेपछि प्रतिकारस्वरूप सैन्य कारबाही गरिएको हो।

इरानले भने अर्को सूचना नआएसम्मका लागि स्ट्रेट अफ होर्मुज बन्द गरिएको घोषणा गरेको छ। आईआरजीसीका अनुसार लक्षित जहाजले आफ्नो ट्र्याकिङ प्रणाली बन्द गरेको र स्वीकृत समुद्री मार्गबाट विचलित भएकाले त्यसलाई नियम उल्लंघन गर्ने जहाज ठहर गर्दै कारबाही गरिएको हो।

अमेरिकी सेन्टकमका अनुसार यो यस साताभित्र इरानविरुद्ध गरिएको तेस्रो चरणको हवाई आक्रमण हो। अमेरिकी पक्षले व्यापारिक जहाजहरूमाथिको आक्रमण अन्तर्राष्ट्रिय समुद्री सुरक्षामाथिको चुनौती भएको दाबी गर्दै त्यसको जवाफमा लक्षित सैन्य कारबाही गरिएको जनाएको छ।

यसअघि पनि यही साताभित्र तीनवटा व्यावसायिक तेल ट्यांकरमाथि आक्रमण भएपछि अमेरिका र इरानबीच सैन्य प्रतिकारको शृंखला तीव्र बन्दै गएको छ। पछिल्ला घटनाले विश्वकै प्रमुख तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा सुरक्षा जोखिम थप बढाएको छ।

सेन्टकमका अनुसार पछिल्लो आक्रमणबाट व्यापारिक जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको छ, जसका कारण जहाजले आफ्नो यात्रा जारी राख्न सकेन। साथै, जहाजमा सवार एक चालकदल सदस्य बेपत्ता रहेको जनाइएको छ।

सामाजिक सञ्जाल एक्समार्फत जारी विज्ञप्तिमा सेन्टकमले इरानलाई यसअघि भएका जहाजमाथिका आक्रमणपछि सम्झौताको पालना गर्ने अवसर दिइएको भए पनि त्यसको उल्लंघन दोहोरिएकाले सैन्य कारबाही गर्नुपरेको उल्लेख गरेको छ।

सम्बन्धित समाचार